‘वाइड बडी’ उडाउन नयाँ गन्तव्य पाएन निगमले

 

काठमाडौं भदाै ८। नेपाल वायु सेवा निगमको वाइड बडीलाई थप अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने योजना विफल भएको छ । दुईवटा वाइड बडी विमान ल्याएर थप तीन देशमा उडान भर्ने निगमको योजना युरोपियन युनियन (ईयू) ले लगाएको प्रतिबन्धका कारण असफल भएको हो ।

 

नयाँ गन्तव्यमा उडान अनुमति नपाएपछि निगमले हाल सञ्चालन भइरहेकै सेक्टरमा दुवै वाइड बडी उडाउनुपर्ने बाध्यता आइलागेको छ । निगमले भारतको नयाँदिल्ली, बेंगलोर, मुम्बई, हङकङ, मलेसिया, थाइल्यान्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ।

 

निगम स्रोतका अनुसार निगमका पदाधिकारी दक्षिण कोरिया, रियाद र जापानमा उडानका लागि अनुमति लिन गएका थिए । तीसम्बद्ध देशका उड्डयन अधिकारीले ईयूले नेपाललाई कालोसूचीमा राखेको कारण देखाउँदै उडान अनुमति दिन असमर्थता प्रकट गरेका थिए । ईयूअन्तर्गतका २८ देशमा नेपालका कुनै पनि जहाजलाई उड्न रोक लगाइएको छ ।

 

सन् २०१३ डिसेम्बर ५ मा ईयूले नेपाली जहाजलाई आफ्ना २८ वटै सदस्य राष्ट्रमा उडान भर्न रोक लगाएको थियो । लुक्ला जान लागेको तारा एयरको जहाज काठमाडौंको मनहरामा दुर्घटना हुँदा मृत्यु भएका ११ जनामध्ये नौ जना यात्रु बेलायती थिए । यो दुर्घटनापछि ईयूले प्रतिबन्ध लगाएको हो ।

 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपाललाई कालोसूचीमा राखे पनि सन् २०१७ को जुलाईमा त्यसबाट मुक्त गरिसकेको छ । आइकाओले कालोसूची फुकुवा गरे पनि ईयूले जारी राखेकाले नेपालले थप गन्तव्य हासिल गर्न सकेको छैन ।

 

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आगामी सेप्टेम्बरदेखि ईयूले नेपालमाथि लगाएको प्रतिबन्ध हटाउने र त्यसका लागि सरकारले प्रयास गरिरहेको बताउँदै आएका छन् ।

 

जापान, रियाद र कोरिया मात्र होइन, नेपालमा दैनिक नौ पटक आफ्ना जहाज अवतरण गर्ने चीनले समेत गोन्जाओमा निगमको विमान उड्ने अनुमति हालसम्म दिएको छैन । तीन वर्षदेखि नेपाली अधिकारीले गोन्जाओमा थप गन्तव्य खुलाउने भनी एजेन्टसम्म नियुक्त गरेको थियो । गोन्जाओमा धेरै भीडभाड (एयर ट्राफिक जाम) हुने देखाए पनि मुख्य कारण ईयूको प्रतिबन्धलाई नै इंगित गर्दै आएको छ ।

 

दुईवटा वाइड बडी आएपछि जापान, दक्षिण कोरिया, रियाद, अस्ट्रेलिया र युरोपियन मुलुकमा उडान भर्ने निगमको व्यापारिक योजना थियो । तर, ती सेक्टरका लागि प्रारम्भिक काम पनि हालसम्म सम्पन्न नहुनुले यो व्यापारिक योजना नै हावादारी भएको निगमका एक पाइलटले बताए । ‘राष्ट्रको अर्बौंको लगानी गरेर बीचमा अनावश्यक दलालहरू खडा गरेर ल्याइएको जहाज राम्रोसँग सञ्चालन नहुने प्रस्ट छ’, उनले भने ।

 

अघिल्लोपटक जहाज ल्याउँदा १५ दिन मात्रै एयरपोर्टमा राख्नुपरेको थियो । निगमले पहिला बन्द भएको भारतको सेक्टर खुलाउन सबै प्रक्रिया पूरा गर्न त्यति अवधि लागेको थियो । वाइड बडी जहाज ल्याएर एक महिनाभन्दा बढी थन्क्याउँदा निगमलाई करोडौंको नोक्सानी भएको छ । दुवै वाइड बडीको १८ वटा बिजनेस क्लास र २५६ वटा साधारण ९इकोनोमी० सिट छन् । दुवै विमान सरकारको जमानतमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको २४ अर्ब रुपैयाँ ऋणमा खरिद भएको हो । अन्नपूर्णपोष्टबाट।