आज नेपालले दोस्रो अभ्यास खेल खेल्दै

 

काठमाडौं, भदौ ८ । एसिया कप छनोटको लागि विशेष प्रशिक्षण गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) दोस्रो अभ्यास खेल खेल्दैछ । मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कपको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेल खेल्न लागेको हो ।

 

पहिलो अभ्यास खेलमा जित निकालेको नेपालले आज ब्लुमफिल्ड क्लबसंग उसैको मैदानमा दोस्रो अभ्यास खेल खेल्नेछन् । एकदिवसीय फर्म्याटमा हुने नेपाल र ब्लुमफिल्डबीचको खेल नेपाली समय अनुसार १०:१५ मा सुरु हुनेछ । नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई ६७ रनले हराएको थियो । नेपालले खेल्न लागेको ब्लुमफिल्ड क्लब कोलम्बोमा रहेको श्रीलंकाको पुरानो क्रिकेट क्लब हो ।

 

सन् १८९२ मा स्थापना भएको यस क्लबले श्रीलंकाको फस्ट क्लास लिग प्रिमियर ट्रफी ८ पटक जितिसकेको छ । श्रीलंकाका लिजेण्ड सनथ जयसूर्या जस्ता खेलाडीले खेलिसकेको यो क्लबले सन् २०१० को सिजन प्रिमियर ट्रफी जितेको थियो । यस क्लब अहिले निपुन करुणानायकेको कप्तानीमा रहेको छ । यस क्लबमा हाल उमेर समूहमा उच्च प्रदर्शन गरेका खेलाडीको बाहुल्यता रहेको छ ।

 

युवा खेलाडीको बाहुल्यता रहे पनि यस क्लबका अधिकांस खेलाडीले लिस्ट ए क्रिकेट खेलिसकेका छन् । ब्लुमफिल्डपछि नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससंग उसैको मैदानमा आइतबार खेल्ने छ । तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् ।

 

छनोटको पहिलो खेलमा नेपालले ओमानसंग खेल्नेछ । नेपाल र ओमानबीचको खेल अगष्ट २९ मा बायुमास ओभलमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा युएईको सामना गर्ने छ । नेपाल र युएईबीचको खेल अगष्ट ३० मा किनरारा ओभलमा हुनेछ । नेपालले तेस्रो खेलमा आयोजक मलेसियासंग सेप्टेम्बर १ मा खेल्ने छ । त्यस्तै सेप्टेम्बर २ मा सिंगापुरसंग खेल्ने नेपालले सेप्टम्बर ४ मा हङकङसंग खेल्ने छ ।

 

राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् । छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् । एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ । र, एसोसियट राष्ट्रबाट एक टोलीले एसिया कपमा टिकट काट्ने छन् । छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।