धूमपान नगर्ने ‘प्यासिभ स्मोकर’लाई पनि फोक्सो संक्रमणको खतरा

 

काठमाडाैं भदाै ८। अमेरिकामा गरिएको एक अध्ययनले ‘प्यासिभ स्मोकर’हरुको फोक्सोमा समस्या हुने रिपोर्ट सार्वजनिक गरेको छ।
अझ बाल्यकालमा धूमपान गर्ने अभिभावकबीच हुर्केका बच्चाहरूको फोक्सोमा संक्रमण हुन सक्ने धेरै खतरा रहेको उक्त अध्ययनको निष्कर्ष छ।

उक्त अनुसन्धानले धूम्रपान नगर्ने एक लाख युवाहरूमध्ये ७ जना ‘प्यासिभ स्मोकर’हरुको मृत्यु हुने देखाएको छ। धूम्रपान नगर्ने तर धूम्रपान गर्दै गरेका व्यक्तिहरू बीच धेरै समय बिताउने व्यक्तिहरुलार्इ ‘प्यासिभ स्मोकर’ वा ‘सेकेन्ड ह्यान्ड स्मोकिङ’ भनिन्छ।

 

अमेरिकन क्यान्सर सोसाइटीले धूमपान नगर्ने ७० हजार ९ सय व्यक्तिहरुमा गरेको अध्ययनले यस्तो तथ्यको खुलासा गरेको हो। विज्ञहरुका अनुसार बालबालिकाहरूको सुरक्षाका लागि उपयुक्त उपाय भनेको अभिभावकहरूले धूम्रपान त्याग्नु हो।

 

बाल्यकालमा प्यासिभ स्कोमर भएका व्यक्तिहरूले युवा अवस्थामा धूमपान गर्ने व्यक्तिसँग पनि बसे उनीहरूमा स्वास्थ्य सम्बन्धी अरू समस्या पनि देखिन्छ। हप्तामा १० घण्टाभन्दा बढी समय धूमपानबाट उपन्न हुने धुवाँमा बसेको खण्डमा त्यसले ‘इस्सेमिक हर्ट डिजिज’ २७ प्रतिशतले बढ्न गर्इ मृत्यु नै हुन सक्छ। साथै त्यस्तो अवस्थाका कारण स्ट्रोक २३ प्रतिशतले र ‘क्रोनिक अवस्ट्रकटिभ लङ्ग डिजिज’ ४२ प्रतिशतले बढ्ने खतरा हुन्छ।

 

अनुसन्धानका क्रममा सहभागी भएकाहरुलार्इ प्यासिभ स्मोकरका रुपमा उनीहरुले बिताएको जीवनका बारे प्रश्न  गरिएको थियो। साथै उनीहरुको आगामी २२ वर्षको स्वास्थ्य अवस्था पनि ट्रयाक गरिएको थियो।

 

एक्सन अन स्मोकिङ एन्ड हेल्थका ह्याजेल चिजम्यान भन्छिन् ‘हाल सार्वजनिक भएको रिपोर्टले बालबालिकाहरुलार्इ अस्वस्थ हुनबाट बचाउन धूमपानलार्इ उनीहरु भन्दा टाढा राख्नु पर्ने देखिएको छ। अभिभावकहरूले त धूमपान त्याग्नै पर्छ।

 

चिजम्यानको भनार्इलार्इ समर्थन गर्दै ब्रिटिस लङ्ग फाउन्डेसनका डा निक होपकिनसन भन्छन् ‘प्यासिभ स्मोकरहरुमा बाल्यकालपछि पनि धूमपानले धेरै असर गर्ने गर्दछ। हामीहरूले बालबच्चा भएका अभिभावक र गर्भवती महिलाहरुलार्इ धूमपान त्याग्न सहयोग गर्नैपर्छ।’

 

धूमपान गर्ने अभिभावकहरूमा स्वास्थ्य समस्या र फोक्सोको विकास राम्ररी नहुने पाइएको छ। अभिभावकहरूले धूमपान गर्दा त्यसबाट बाल्यकालमा प्रभावित भएकाहरुलार्इ युवा अवस्थामा त्यसले असर गर्ने र त्यसले क्रोनिक अवस्ट्रकटिभ लङ्ग डिजिज हुने खतरा देखिएको अध्ययनले देखाएको छ।

 

अनुसन्धानपश्चात् रिपोर्ट तयार गरेका डा रयान डिभरका अनुसार बाल्यकालमा धूमपानको असर र सेकेन्ड ह्यान्ड स्मोकिङबीचको सम्बन्ध र क्रोनिक अवस्ट्रकटिभ लङ्ग डिजिजबाट हुने मृत्युका बारे गरिएको यो पहिलो अध्ययन हो। अध्ययनले ‘सेकेन्ड ह्यान्ड स्मोकिङ’ कम गर्न जोड दिएको डिभरले बताएका छन्।

 

अनुसन्धानकर्ताहरूले मृत्यु हुने खतरामा बढी सावधानी अपनाउन जोड दिए पनि ‘चाइल्डहुड सेकेन्ड ह्यान्ड स्मोकिङ’ले पनि क्रोनिक रोगहरूको खतरा हुने देखिएको बताएका छन्।