नेकपा नेता भट्टले प्रहरीको गोली लागेर मृत्यु भएका युवालाई शहिद घोषणा गर्न माग

 

कैलाली भदाै ९। नेपाल कम्युनिष्ट पाटी (नेकपा) का नेता लेखराज भट्टले कञ्चनपुरमा गोली लागि मृतक भएका युवकलाई राष्ट्रिय शहीद घोषणा गर्न माग गरेका छन् ।कञ्चनपुरको भीमदत्तनगरमा हिजो भएको प्रदर्शनमा प्रहरीको गोली लागि एक १७ वर्षीय युवकको हत्या भएको थियो ।

 

 गोली चलेलगत्तै अध्यक्ष प्रचण्डसँग जनप्रतिनिधि सहित भेट गरेका भट्टले लगत्तै विज्ञप्ती जारी गर्दै मृतक परिवारलाई क्षतिपूर्ति र मृतकलाई राष्ट्रिय शहीद घोषणा गर्न माग गरेका हुन ।

 

पुर्व मन्त्री समेत रहेका नेता भट्टले जनताको सही नियतको आन्दोलनलाई गलत दिशातर्फ लैजाने सम्भावनाप्रति समेत सचेत रहन माग गरेका छन् ।

 

यस्तो छ भट्टले जारी गरेको विज्ञप्ती

 

कञ्चनपुर जिल्लाको भीमदत्तनगर नगरपालिका वडा नं. २ निवासी निर्मला पन्तको बलात्कापछि हत्या भएपश्चात विकसित घटनाक्रमप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

 

घटना घटे लगत्तै मैले मेरो व्यक्तिगत र सात नम्बर प्रदेशका सबै जनप्रतिनिधिसँग समन्वय गरी सरकार समक्ष उक्त घटनालाई संवेदनशीलरुपमा लिई आवश्यक अनुसन्धान र कार्वाही गर्न माग गरेको सबैलाई विदितै छ ।

 

तर राज्यका तर्फबाट उक्त घटनालाई सामान्यरुपमा लिई सुरक्षा स्थिति मजबूत पार्न तथा घटनाको निष्पक्ष छानबीन गर्ने दिशामा गम्भीरता देखाउन नसक्दा अहिले घटनाले अनपेक्षित मोड लिन पुगेको छ ।

 

यसैक्रममा आन्दोलनमा सहभागी एकजना युवकको मृत्यु भएको समाचार सुन्दा म स्तब्ध बनेको छु । शान्तिपूर्ण प्रदर्शनलाई अराजकरुपमा लैजान खोज्ने गैर राजनीतिक प्रवृत्तिको निशानमा परेका ती युवकका परिवारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु ।

 

हत्याकाण्डबारे भरपर्दो तरिकाले अनुसन्धान गरियोस र दोषीलाई कार्वाही होस भन्ने आम जनताको माग रहेको छ । जनताको शान्तिपूर्ण र न्यायिक आन्दोलनप्रति समर्थन गर्नुका साथै प्रदर्शनमा अनावश्यक बल प्रयोग गरिएकोमा गृह प्रशासनको गम्भीर रुपमा ध्यानाकर्षण गराउनु चाहन्छु । जनताको स्वतःस्फूर्त आन्दोलनमा बल प्रयोग नगर्न तथा घटनालाई अतिरञ्चित तवरले राजनीतिकरण गर्ने प्रयास हुनसक्ने अवस्थालाई ध्यानमा राखेर नागरिक भावना अनुरुप अनुसन्धान अघि बढाई जनसुरक्षाका लागि आवश्यक रणनीति अबलम्बनका लागि निर्देशन दिन समेत गृह प्रशासन समक्ष माग गर्दछु ।

 

निर्मला हत्याकाण्डमा गृह मन्त्रालयसमक्ष बारम्बार उच्चस्तरीय न्यायीक छानबीन समितिको गठन गरी तदारुकता दिन माग गर्दै आए पनि गत विहिबारका दिन गृह मन्त्रालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र उपप्रमुखको स्थानान्तरण गरेपनि घटना झनै बल्झिन पुगेको छ ।

 

स्थानीय प्रहरी तथा प्रशासनमाथि आम जनताको विश्वास र भरोस टुटने अववस्था आउन नदिन सरकारले आफ्नो कमाण्डमा रहेको सुरक्षा प्रशासनलाई जनउत्तरदायी ढंगले परिचालन गरी जनभावना अनुरुप अनुसन्धानको कार्यलाई अगाडि बढाई दोषीलाई कार्वाहीको घेराभित्र ल्याउनु सकेमात्रै जनताको असन्तुष्टि हल हुन सक्छ । तसर्थ, म मेरो व्यक्तिगत र म सम्बद्ध पार्टी कमिटिका तर्फबाट निर्मला हत्याका विषयमा उच्चस्तरीय स्वतन्त्र न्यायिक छानबीन कमिटि अबिलम्ब गठन गर्न सम्माननीय प्रधानमन्त्रीसमक्ष माग गर्न चाहन्छु ।लेखराज भट्ट सांसद