आज बिहान पहिरो खस्दा दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडी, भदौ १० । लगातारको वर्षाले आज बिहान पहिरो खस्दा दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । बैतडी सदरमुकाम गोठलापानीदेखि भारतीय सीमा जोड्ने झुलाघाट सडखण्डको धारीघाँट भन्ने ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको लागी किनमेल गर्न यहाँका नागरिक सीमावर्ती बजार जान गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा गौराको लागी किनमेल गर्न जाने तथा फर्किने यात्रुहरुलाई समस्या भएको छ । केही दिनदेखिको लगातारको बर्षाले यहाँको जनजीवन समेत प्रभावित बन्दै गएको छ ।
अवरुद्ध राजमार्ग पुन सञ्चालनमा ल्याउन दशरथचन्द नगरपालिकाको डोजरलाई खबर भईसकेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा भारतीय सीमाबजार झुलाघाटजाने तथा त्यहाँवाट आउन समस्या भएको छ।