भीमदत्त नगरपालिकाले तीन-तीन लाख सहयोग गर्ने निर्मला र शनिका परिवारलाई

 महेन्द्रनगर, भदौ १० । यस अघि भीमदत्त नगरपालिका नगर कार्यपालिका बैठकबाट पन्त परिवारलाई आवश्यक सहयोग गर्ने निर्णय गरिएको थियो । भीमदत्त नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई तीन लाख सहयोग गर्ने घोषणा गरेको छ । भीमदत्तका नगरप्रमुख सुरेन्द्र विष्टले आइतबार पन्तका परिवारलाई सहयोगको घोषणा गरेका हुन् ।

 

१३ वर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएको यो अत्यन्तै दुःखद घट्ना हो, यो जघन्य अपराध हो, निर्मलालाई त हामी सबैले गुमाएका छौ, उनलाई फर्काउन सकिदैन’ नगर प्रमुख विष्टले भने,–‘निर्मलाको आत्मालाई शान्ति मिलोस, नगरपालिका कार्यालय यो कामना गर्दछ साथै निर्मलाको भाई बहिनीलाई पठनपाठन र परिवारका लागि तीन लाख सहयोग प्रदान गर्छौ ।’

 

निर्मलाको हत्यामा संलग्नलाई छिटो कानुनी दायरामा ल्याएर कारवाही गरिनु पर्ने नगर प्रमुख विष्टले बताए । नगर प्रमुख विष्टले निर्मला हत्याको अनुसन्धनमा भीमदत्त नगरपालिकाबाट हुने सबै सहयोग गरिने प्रतिवद्धता जनाए । निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा गोली लागेर ज्यान गुमाएको शनि खुनाका परिवारलाई शनिबार तीन लाख सहयोग गर्ने घोषणा गरिएको थियो ।

 

महाकाली नदीको ब्रह्मदेब घाटमा आइतबार राष्ट्रिय सम्मानका साथ १४ वर्षिया खुनाको दाहसंस्कार गरिएको छ । उनी भीमदत्त नगरपालिकाका कर्मचारी विरु खुनाका छोरा हुन् । भीमदत्तका नगर प्रमुख विष्टले निर्मला हत्या प्रकरणलाई लिएर आफूसित अनावश्यक रुपमा जोडिएर आएका अफवाहले मर्माहित बनाएको बताए ।

 

भीमदत्तका नगर प्रमुख विष्ट आइतबार खुनाको दाहसंस्कारमा सहभागी भएका छन् । ब्रह्मदेब घाटमा उनले खुनालाई श्रद्धाञ्जली दिएका छन् । उनले खुनाको बलिदानीलाई राष्ट्रले सधैं सम्मान गर्ने बताए ।

 

निर्मलाको हत्यापछि निरन्तर रुपमा पीडित परिवारसित छु, कार्यपालिका बैठकबाट पीडित परिवारलाई सहयोग गर्ने निर्णय गरेका थियौ, कार्यपालिकाकाबाट पटक पटक यस घट्नालाई लिएर विज्ञप्ति सार्वजनिक गरेका छौ’ नगर प्रमुख विष्टले भने,‘यति हुँदा समेत अनावश्यक रुपमा बदनाम गर्ने नियतका साथ विभिन्न अपवाह फैलाइएका छन्, यसले मर्माहत बनाएको छ, व्यक्तिगत रुपमा चरित्र हत्या गर्ने नियतका साथ त्यस्ता अपवाह फैलाइएका छन्, ती सबै भ्रम हुन्, त्यस्तो भ्रममा नपर्न सबैमा आग्रह गर्छु ।