नेकपाका नेता लेखराज भट्ट प्रधानमन्त्रीको सन्देश लिएर महेन्द्रनगर घटनाका पीडितको घरमा

 कञ्चनपुर भदाै १०।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री भट्टसहित सांसदहरु दिपकप्रकाश भट्ट, नरबहादुर धामी र प्रदेश नं. ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, प्रदेशसभा सदस्यद्वय मानबहादुर सुनार र प्रकाश रावललगायतको टोली महेन्द्रनगर पुगेको हो।

 

नेकपाका नेताहरुले शनिबार मात्र प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेर घटनाको निस्पक्ष छानबिनको माग गरेका थिए। सोही क्रममा आइतबार महेन्द्रनगर पुगेका नेता भट्टले आफू प्रधानमन्त्रीको सन्देश लिएर आएको बताए ।

 

उनीहरुले बलात्कार पश्चात हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवार, बलात्कार घटनाको विरोधमा भइरहेको आन्दोलनका क्रममा मारिएका र सरकारबाट शहीद घोषित भएका सनी खुना र घाइतेहरुको परिवारसँग भेट गरे।

 

‘हिजो (शनिबार) प्रधानमन्त्रीलाई प्रदेश नं. ७ बाट संघीय (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले भेटेर कञ्चनपुर घटनाबारे ध्यानाकर्षण गरेका थियौं । त्यस पश्चात् प्रधानमन्त्रीले तत्काल सुरक्षा समितिको बैठक र आकस्मिक मन्त्रिपरिषदको बैठक राखि निर्मला पन्तको परिवार र सनी खुनाको परिवारलाई १०–१० लाख दिने निर्णय गर्नुका साथै छानविनमा कुनै कसर बाँकी नराख्ने निर्णय गरेको थियो,’ पीडित परिवारसँगको भेटमा नेता भट्टले भने।

 

उक्त घटनाको निस्पक्ष छनबिन नभएको भन्दै सरकारले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिसकेको छ। यसैगरी, तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्ट निलम्बनमा परिसकेका छन्।

 

नेता भट्टले प्रतिनिधित्व गर्ने सवै जनप्रतिनिधिहरु न्यायका लागि लड्ने प्रतिबद्धता जाहेर गरे।  त्यसैगरी प्रदेश ७ का आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकारका तर्फबाट रु पाँच लाख क्षतिपूर्ति दिने निर्णय भएको जानकारी दिए ।