आज मलेसिया जाँदै एसिया कप छनोट क्रिकेट खेल्न नेपाली टोली

 

काठमाडौँ, भदौ ११ । एसिया कप छनोट क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली आज मलेसिया जाँदै छ । बुधबारदेखि सुरु हुने प्रतियोगिताको तयारीका लागि श्रीलंमा रहेका नेपाली टोली त्यहीबाट मलेसिया जान लागेको हो ।

 

नेपाली टोली आज बिहान १० बजे मलेसिया प्रस्थान गर्ने टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । टोलीका एक सदस्य सन्दीप लामिछाने पनि क्यारेवियन प्रिमयर लिग सीपीएल छाडेर भोलि सिधै मलेसिया पुग्नेछन् ।

 

यस प्रतियोगितामा जित हासिल गर्न सके नेपालले भारत र पाकिस्तानजस्ता मुलुकको सिनियर टोलीबिरूद्ध खेल्न पाउनेछ । नेपालले बुधबार ओमानसँगको खेलसँगै एसिया कप छनोट प्रतियोगिताको सुरुआत गर्नेछ ।

 

प्रतियोगितामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् । नेपालले भदौ १४ गते युएईसँग, १६ गते मलेसियासँग, १७ गते सिंगापुरसँग र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

 

राउण्ड रोविन प्रणालीअनुसार हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । त्यसको विजयी टोलीले आसन्न एसिया कपको समूह बी मा रहेर खेल्नेछ । जहाँ एसियाका महारथी टोलीहरु भारत र पाकिस्तान छन् ।