महिलाकाे पाठेघर खस्ने कारण, देखिने लक्षण र बच्ने उपायहरु, पुरा जानाकरीकाे लागि पढ्नुहोस

 काठमाडौँ । ग्रामिण भेगका महिलाहरुमा देखिने पाठेघर खस्ने समस्या एक प्रमुख तथा जटिल समस्या हो । यसलाई हाम्रो समाजमा ‘आङ खस्ने’ समस्या पनि भनिन्छ ।

 

कतिपय ग्रामिण भेगका महिलाहरुले यसलाई सामान्य रुपमा लिने गर्छन् । उनीहरुले यसलाई स्वास्थ्य समस्याको रुपमा नभई बच्चा भएपछि हुने स्वभाविक असरका रुपमा लिने गरेको पाईन्छ । हाम्रो परिवार तथा समाजमा प्रजनन् अंगको बारेमा निकै न्यून मात्रामा छलफल हुने भएकाले पनि यो समस्या महिलाहरुको लागि घातक हुने गरेको छ । अर्को तर्फ पाठेघर खस्नुलाई अघिल्लो जन्मको पाप हो भन्ने गलत मान्यताले पनि महिलाहरु पीडित बन्न बाध्य भएका छन् ।

 

तर वास्तवमा यो महिलाहरुमा देखिने शारिरीक समस्या मात्रै हो । पाठेघर खस्नु भनेको महिलाको शरीरमा पाठेघर रहनुपर्ने निश्चित ठाउँ छाडेर योनीबाट बाहिर आउनु हो । यो समस्या मुख्यतया पहिलो बच्चा पाएको महिला तथा धेरै बच्चा पाएका महिला जोसुकैलाई हुन सक्छ ।

 

पाठेघर खस्नुका कारणः

 

गर्भाशयलाई बाँधेर राख्ने नशाहरु कमजोर हुँदा पाठेघर तल खस्न पुग्छ । यस्ता छन् पाठेघर खस्नुका मुख्य कारणहरुः

१– सानै उमेरमा विवाह गर्नु

२– कम उमेरमा बच्चा जन्माउनु तथा गर्भान्तर नगरी बर्षेनी बच्चा जन्माउनु

३– बच्चा जन्मिसकेपछि चाँडै साल झरेन भनेर बल प्रयोग गरी साल निकाल्नु

४– सुत्केरी अवस्थामा टुक्रुक्क बसेर लुगा धुनु वा गह्रौँ कामहरु गर्नु

५– गर्भवती वा सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनु

पाठेघर खस्दा देखिने लक्षणहरुः

यस्तो बेला टुक्रुक्क बस्दा केही अप्ठ्यारो हुन्छ र ढाड पनि दुख्छ । खोक्दा, टुक्रुक्क बस्दा, बल गरेर कन्दा पाठेघरको मुख योनीको प्वालमा देख्न सकिन्छ । यस्तो अवस्थामा पाठेघरले पिसाबको थैलीलाई थिच्ने भएकोले छिनछिनमा पिसाब लाग्ने, कम्मर दुख्ने, खोक्दा, भारी बोक्दा योनीको मुखमा केही डल्लो आएर बसेको जस्तो हुन्छ ।

पाठेघर खस्नबाट बच्ने उपायहरुः

१– किशोरीहरुलाई पोषिलो खाना खुवाउने ।

२– कम्तिमा २० वर्ष पुगेपछि मात्र छोरीको विवाह गर्ने ।

३– गर्भवती अवस्थामा कम्तिमा चारपटक र सुत्केरी अवस्थामा तीन पटक स्वास्थ्य जाँच गराउने ।

४– स्वास्थ्य संस्थामा गई दक्ष प्रसुतिकर्मीबाट प्रसुति गराउने ।

५– गर्भावस्था र सुत्केरी अवस्थामा पोषिलो खाना पर्याप्त मात्रामा खाने ।

६– सुत्केरी भएको ६ हप्तासम्म आराम गर्ने ।

७– गर्भावस्था र सुत्केरी अवस्थामा गहृौ भारी नबोक्ने ।

८– दोस्रो बच्चाको लागि कम्तिमा २ वर्ष पर्खने ।