बिमस्टेक सम्मेलनमा आउने भिआइपीको सुरक्षाका लागि पूर्वअभ्यास

 

काठमाडौँ भदाै ११।   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा नेपाल आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवास स्थलसम्म पुर्याउन सोमबार पूर्वअभ्यास गरिएको छ ।

 

यही भदौ १४ र १५ गते काठमाडौँमा हुने सम्मेलनमा भाग लिन आउने विदेशी विशिष्ट तथा अति विशिष्ट पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पाहुना बस्ने होटल, सम्मेलनस्थलदेखि उनीहरु जाने स्थानसम्म पूर्वअभ्यास गरिएको हो ।

 

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा उक्त पूर्वअभ्यास भएको थियो । सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, थाइल्याण्ड, श्रीलङ्का, म्यान्मा, भुटानका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी हुनेछन् ।

 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानेले सरकारले तोकेअनुसार विशिष्ट र अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।

 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख न्यौपानेले बिमस्टेक सम्मेलनको लागि आवश्यक सुरक्षा व्यवस्था पूरा भएको जानकारी दिए ।

 

व्यक्ति अनुसारको सम्मानका लागि छुट्टाछुट्टै सुरक्षा व्यवस्था तयार गरेका छौँ,उनले भने । गृह मन्त्रालयले सम्मेलनमा भाग लिन आउने पाहुनालाई अति विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० अनुसार सुरक्षा योजना तयार गरेको जनाएको छ ।