दुर्गम गाँउमा अस्पताल लैजान स्टेचर नहुँदा बिरामीलाई समस्या

 

बझाङ भदौ ११ । बझाङकै सदरमुकाम चैनपुर नजिकै रहेको जयपृथ्वी नगरपालिका–२ मा स्टेचर नहुँदा समस्या हुने गरेको छ ।सोमबार बिहान जयपृथ्वी नगरपालीका–२ मोर्तोलीकी २२ वर्षीय जानकी खड्कालाई सुत्केरी ब्याथा लाग्यो । गाउँमा स्टेचर नभएपछि करीब डेढ घण्टाको पैदल हिँडेर सदरमुकाम चैनपुरमा रहेको चैनपुर स्वास्थ्य चौकी बाट स्टेचर लिएर खड्कालाई जिल्ला अस्पताल सम्म पुर्याएको स्थानीय दोरेन्द्र खड्काले बताए ।

 

गम्भीर घाइते भएका बिरामी र सुत्केरी ब्याथा लागेका महिलाहरुलाई बोक्न स्टेचर नहुँदा अस्पताल लैजान समस्या हुने गरेको यहाँका स्थानीयबासी बताउँछन् ।

 

सुत्केरी ब्याथा लागेकी खड्कालाई स्टेचर नभएका कारण झण्डै ३ घण्टाभन्दा बढी घरमा नै राख्नु परेको उनका श्रीमान दमन खड्काले बताए । यस्तै जेठ महिलाको अन्तिम तिर सोही गाँउकी पुतली खड्कालाई सुत्केरी ब्याथा लाग्यो । बेलुकाको समय भएका कारण स्टेचर नपाईने भएपछि यहाँका स्थानीय बासिन्दाहरु सुत्केरी ब्याथा लागेकी पुतलीलाई डोकामा नै बोकेर ल्याउदै गर्दाबीच बाटोमा नै सुत्केरी भएकी उनका श्रीमान पे्रम खड्काले बताए ।

 

साविकको गाविस हुँदा स्टेचर भएपनि उक्त स्टेचरको समेत अत्तोपत्तो छैन । झण्डै एक सय ५० परिवार बसोबास गर्ने यहाँका स्थानीय बासिन्दाहरुलाई सामान्य विरामी पर्दा समेत जिल्लामा रहेको चैनपुर स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा नै पुग्नु पर्ने बाध्यता छ ।

 

यता वडाअध्यक्ष शुक्रदेव जोशीले भने स्टेचर वडामा नभएको स्विकार गरेका छन् । उनले स्टेचर खरीद गर्नका लागि जयपृथ्वी नगरपालिकाले नै बजेट विनीयोजन गरी सकेको र एक वडालाई जनसंख्या हरेर दुईदेखि तीन वटा स्टेचर दिने भन्ने निर्णय भइसकेका कारण आफूले स्टेचर खरीद नरेको बताए । अबको केही दनमा नै स्टेचर प्रत्य वडामा पुग्ने उनको भनाइ छ ।स्थानीय सरकार भएपछि पनि विरामीहरुलाई डोकामा बोकेर स्वास्थ्य चौकीसम्म पुर्याउनु पर्ने बाध्यता रहेको स्थानीय सुरेश खड्का बताउँछन् ।