पहिरोले एक घर पुरियो, ५० लाखको क्षति

 

बैतडी भदौ ११ । लगातारको वर्षाले पहिरो खस्दा बैतडीको सुर्नया गाउँपालिका–४ पालिगाडामा एक घर पुरिएको छ भने बस्ती नै पहिरोको जोखिममा रहेको छ ।

 

गएराती घरमाथिबाट खसेको पहिरोले स्थानीय लक्ष्मी साउँदको घर पूर्ण रुपमा क्षति भएका वडा अध्यक्ष दिनेश भट्टले जानकारी दिए । बस्ने घर पहिरोले लगेपछि अहिले लक्ष्मीको परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

 

आफू एकल महिला भएकाले घर पहिरोले लगेपछि निकै सास्ती भएको उनले बताए । घरमाथिबाट पहिरो खस्दा लक्ष्मीको गोठमा पालेका १ खसी र ६ कुखुरा च्यापिएर मरेका छन्। भने ४ कोठे घर पुर्ण रुपमा नष्ट भएको हो ।

 

पहिरोले करीब ५० लाखको क्षति पुर्याएको सतबाँझ प्रहरीचौकीका प्रहरी हवल्दार दानसिंह खडायतले बताए । चारकोठे घर,अन्नपात ,लुगाफाटो सबै लगाएर उक्त क्षती भएको उनले बताए । लगातारको बर्षाले पहिरो खस्न थालेपछि स्थानीयबासिन्दा त्रसित बनेका स्थानिय प्रकास भाटले बताए ।

 

सो ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले अन्य घरहरु पनि जोखिममा रहेको वडा अध्यक्ष भट्टले बताए । उनले भनेअझै ८ वटा घरहरु अझैं उच्च जोखिममा रहेका छन् । पहिरोबाट विस्थापित तथा उच्च जोखिममा रहेका घरपरिवारका लागि वडाअध्यक्ष भट्टको पहलमा जिल्ला प्रशासन कार्यालय मार्फत अस्थाई टहरा निर्माण तयारी भएको छ ।