प्रधानमन्त्री ओलीले विप्लव र तत्कालिन प्रचण्ड माओवादीकाे गतिविधि समान रहेकाे अाराेप

 काठमाडौं भदाै १२। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव माओवादी खतराको रुपमा देखा पर्न थालेको खुलासा गरेका छन् ।सोमबार सरकारी निवास बालुवाटारमा केही सम्पादकसँगको भेटमा प्रधानमन्त्री ओलीले कसैको नाम उल्लेख नगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) र तत्कालिन प्रचण्ड नेतृत्वको माओवादीको व्यवहार समान रहेको आरोप सांकेतिक रुपमा लगाए 

 

उनले पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको तत्कालिन नेकपा माओवादी र माओवादी सशस्त्र जनयुद्धबारे समेत नकारात्मक टिप्पणी गरेका छन् । विप्लव नेतृत्वको माओवादीतर्फ ईंगित गर्दै उनले विगतमा माओवादीले जस्तै उसले आतंककारी गतिविधि गरिरहेको टिप्पणी गरे ।

 

शान्तिपूर्ण राजनीतिका नाममा मुलुक विखण्डनका लागि भौगोलिक अखण्डताविरुद्ध काम गर्ने र म्यादी प्रहरी मार्ने, विभिन्न पार्टीका नेता सवार गाडीमा बम हान्ने, दलका कार्यकर्ताको खुट्टा काट्ने कामलाई उनले विगतका माओवादीसँग तुलना गरे ।

 

यस्तै उनले विगतमा माओवादीले बाहिर राजतन्त्रविरुद्ध युद्धको कुरा गरे पनि भित्रभित्रै दरबारमा मान्छे पठाएर सांठगांठ गरेको आरोप पनि लगाए । प्रधानमन्त्रीले कांग्रेस र विप्लपबीच समेत त्यस्तै सांठगांठ भएकोतर्फ इंगित गरेका छ्न ।

 

माओवादी शान्ति प्रक्रियामा आएपछि सेनाका जर्नेलहरुलाई सांसद बनाएबाटै उक्त कुरा प्रमाणित भएको उनको तर्क थियो । ‘देश टुक्राउने कुरा गरेर, भौगोलिक अखण्डतालाई चुनौती दिएर, शान्तिपूर्ण भन्दै । माओवादीले पनि हिजो त्यही भनेको थियो’, उनले भने, ‘माओवादीले यो राजतन्त्रविरुद्ध हामी होइन क्यारे’ भन्दै दरबारमा मान्छे पठाएर सांठगांठ गरेकै थियो । सेनाविरुद्ध हामी छंदैछैनौं भनेर विभिन्न जर्नेलहरुसँग सांठगांठ थियो । ती माओवादी खुल्ला हुनेवित्तिकै मनोनित सांसद हुन पुगेका पनि थिए । जर्नेल हुंदाखेरि ती मान्छे नेपाली सेनाको जागिर खाएर माओवादी नेताहरुलाई बोकेर कुद्थे गाडीमा ।’ उनले विप्लवप्रति संकेत गर्दै बाह्य शक्तिसंग लिंकेज रहेको आरोप लगाए । ‘लिंकेज कसको, कहां भनेर भन्न गाह्रो छ । अहिले पनि म व्यक्त गर्दिन’, उनले भने, ‘तपाईंंहरु जान्नुहुन्छ ।

 

 

उनले विप्लवको पहुंच डरलाग्दो रहेको समेत संकेत गरे । ‘यिनको कहांकहां सम्म पहुंछ त्यो डरलाग्दो छ । भन्न सकिंदैन । क–कसको साथ सहयोग छ, क–कसको हात छ । प्रधानमन्त्रीले नेपालविरुद्ध डरलाग्दो षड्यन्त्र भइरहेको उल्लेख गरे ।

 

 

उनले विगतमा राष्ट्रलाई शान्त रहन नदिन अनेक प्रकारका द्वन्द्वका ठूल्ठूला टुसा पलाएर पात हालिसकेको भए पनि साम्य भएको र त्यस्ता तत्व किनारा लागेको बताए । उनले विप्लवप्रति संकेत गर्दै राजनीतिक पार्टीको आवरणमा हत्या, हिंसाजस्ता आतंककारी गतिविधि नगर्न चेतावनी दिए ।