त्रिभुवन विमानस्थलमा यात्रुबाहेक अन्यलाई मंगलबारबाट प्रवेश निषेध !

 

काठमाडौं  भदाै १२। बिमस्टेक सम्मेलनमा पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै यात्रुबाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । एक्लै जान असक्षम रहेका यात्रुले एकजनासम्म सहयेगी मात्र भित्र लिएर जान सक्नेछन् ।

 

त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिलाई साथमा अन्य आफन्त तथा साथिभाई लिएर नआउन विमानस्थल प्रशासनले आग्रह गरेको छ ।

 

विमानस्थलमा प्रवेश गर्ने यात्रुको गोल्डेन गेटमै कडा सुरक्षा जाँच गरिनेछ । अत्यावश्यक कारणले भित्र प्रवेश गरेका व्यक्तिले पनि १०/१५ मिनेटभित्रै विमानस्थल छोड्नुपर्ने प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।

 

भाडाका ट्याक्सीलाई पनि विमानस्थलको गोल्डेन गेटभित्र प्रवेश गर्न पनि निषेध गरिएको छ । निजी सवारी लिएर जानेले पनि यात्रु छाडेर सिधै फर्किनुपर्नेछ ।

 

विमानस्थलभित्र प्रवेश अनुमति पास भएकाहरुको हकमा यो नियम लागू नहुने विमानस्थलले जनाएको छ । होटल, ट्राभल लगायतका गाडीलाई पनि ५ देखि १० मिनेटभित्र यात्रु लिएर विमानस्थलबाट गइसक्नुपर्ने नियम बनाइएको छ ।