जीप दुर्घटना हुँदा ९ जना घाइते

 

डडेल्धुरा, भदौ १२ । डडेल्धुरा सरमुकाम नजिकैको अमरगढी नगरपालिका–२ आइतबजार नजिकैको ठूलाखोलामा जीप दुर्घटना हुँदा नौं जना घाइते भएका छन् ।घाइते हुनेमा भागेश्वर गाउँपालिका–४ की शारदा मडै, सोही ठाउँका टेक मडै, सरस्वती गौली विष्ट, भागेश्वर–५ का रामदत्त जोशी, अजयमेरु गाउँपालिका–५ का बहादुर खड्का, सोही ठाउँका हिरा खड्का रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

 

भागेश्वर गाउँपालिकाको बगरकोटबाट सदरमुकामतर्फ आउँदै गरेको ना १ ज ३११९ नम्बरको जीप मंगलबार दिउँसो १२ः३० बजे दुर्घटना भएको हो ।जीपमा चालक सहित १४ जना रहेको प्रहरीले जनाएको छ । जीप सडकबाट तल १५ मिटर खसेको प्रहरीको अनुमान छ । गुँरास यातायात समिती बैतडीद्धारा सञ्चालीत जीप क्षमता भन्दा बढी यात्रु र वर्षाले सडक चिप्लो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

 

यस्तै कञ्चनपुरको झलारी नगरपालिका–१० की लक्ष्मी खडायत, अजयमेरु–५ का पुरुषोत्तम जोशी, गान्याधुरा गाउँपालिका–३ की देवादेवी कठायत पनि घाइते भएको उनले बताए । घाइते सबैको डडेल्धुरास्थित उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेहरुको टाउकोे, छाति र खुट्टामा चोट लागेको प्रहरीले बताएको छ ।