एसिया कपमा अाज नेपाल र ओमन आमने-सामने हुदै, यस्तो छ विगतको नतिजा

 

काठमाडौं, भदौ १३ । एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत्को उद्घाटन खेलमा नेपालले ओमनको सामना गर्ने भएको छ । मलेसियामा अाज बुधबार देखि सुरु हुने उक्त छनोट खेलमा नेपालले विजय लक्ष्यसाथ ओमनसँग प्रतिस्पर्धा गर्नेछ ।

 

उक्त खेल नेपाली समयअनुसार बिहान ७ः४५ बजे बायुमास ओभल क्रिकेट मैदानमा हुनेछ । एकदिवसीय खेलमा नेपाल र ओमन अहिलेसम्म पाँचपटक आमने–सामने भइसकेका छन् । नतिजा नेपालले पक्षमा तीन र ओमनले दुई खेलमा विजय हासिल गरेको छ ।

 

सन् २००२ को एसीसी ट्रफीमा नेपालले ओमनलाई १०५ रनले पराजित गरेको थियो । सन् २०१० को एसीसी ट्रफी एलिट कपमा नेपालले ओमनलाई ६ विकेटले तथा सन् २०१३ को डिभिजन–३ मा नेपालले लिग चरणको खेलमा ओमनलाई २८ रनले पराजित गरेको थियो ।

 

गत फेब्रुअरीमा नामिबियामा भएको डिभिजन–२ मा ओमनले नेपाललाई पराजित गरेको थियो । सन् २०१४ को एसीसी प्रिमियर लिगमा ओमनले नेपाललाई दुई विकेटले पराजित गरेको थियो ।

 

एसिया कप छनोट खेलमा नेपालसहित आयोजक मलेसिया, संयुक्त अरब इमिरेटस् (युएई), हङकङ, सिंगापुर र ओमन गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

 

नेपालले भदौ १३ मा युएईसँग, १४ मा मलेसियासँग, १६ मा सिंगापुरसँग तथा हङकङसँग १९ गते खेल्नेछ । प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्नुका साथै विजेता टोलीले एसिया कपमा सहभागिता जनाउनेछ ।

 

एसिया कप भने यही भदौ २८ देखि असोज १२ गतेसम्म युएईमा हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट राष्ट्रको सहभागिता रहनेछ ।

 

उक्त प्रतियोगता तयारीका लागि नेपाली टोलीले श्रीलंकामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेको थियो । नेपालले श्रीलंकामा रहँदा त्यहाँका श्रीलंकन आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई पराजित गरेको थियो ।

 

नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।

 

वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुशन भारी छन् । बुधबार नै हुने अर्को खेलमा आयोजक मलेसिया र हङकङ भिड्दैछन् ।रासस