पठनपाठनमा समस्या विद्यालय भत्किँदा

 

बैतडी, १३ भदौ । केही दिनदेखि लगातारको वर्षाले मङ्गलबार सुर्नया गाउँपालिका–७ कठमडास्थित केदार माध्यमिक विद्यालयको आठ कोठे भवन भत्किएको छ । भवन भत्किँदा रु दुई करोड बढीको क्षति भएको विद्यालयले जनाएको छ । वर्षातले विद्यालय भवनको छत पूर्णरूपमा नष्ट भएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्रबहादुर चन्दले बताउनुभयो ।

 

भवनको छत भत्किएपछि विद्यालयको पुस्तकालय पूर्णरूपमा नष्ट भएको छ भने कम्प्युटरमा समेत क्षति पुगेको छ । उहाँले भन्नुभयो, “विद्यालय भवन भत्किँदा रु दुई करोड बढीको क्षति भएको छ ।

 

कक्षा बाह्रसम्म पढाइ हुने सो विद्यालयको आठ कोठे भवन भत्किएपछि पठनपाठनमा अवरोध पुगेको हो । विद्यालयको भवन भत्किएपछि विद्यार्थीलाई चौरमा पढाउनुपर्ने बाध्यता आइलागेको विद्यालयका शिक्षक प्रेमबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षातको समय भएकाले चौरमा पढाउन समेत समस्या भएको छ ।” विद्यालयले भवन पुनःनिर्माणका लागि सरोकारवालासँग आग्रह गरेको छ । उक्त विद्यालयमा ४२० बढी विद्यार्थी अध्ययनरत छन् । रासस