धौलीगंगा बाँध पुन भारतले खोल्दै, सतर्क रहन आग्रह

 

बैतडी, भदौ १३ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बिहीबार बाँध पुनः खोलिने भएको छ।

परियोजनाले बाँध खोलिने भनेर पूर्व जानकारी गराएको छ ।’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने–‘महाकाली तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन हामीले आग्रह गरेका छौं ।

 

बिहीवार बिहान ८ बजेदेखि शुक्रबार बिहान ८ बजेसम्म बाँध खोलिने भएको हो । यस वर्षमात्रै धौलीगंगा जलविद्युत परियोजनाको बाँध पाँचौ पटक खोलिन लागिएको छ ।  परियोजनाले बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गरेको जानकारी आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए ।

 

दार्चुलाको दत्तुमा आज विहान ८ बजे गरेको मापन गरिएअनुसार महाकाली नदीको सतह ४.७० मिटर क्युसेक रहेको छ । ५.५ मिटर क्युसेक बढी पानीको सतह पुगेपछि खतरा मानिन्छ ।

 

बाँधको पानी खोलिदा महाकाली नदी तटिय क्षेत्रमा जोखीम बढ्ने भएकोले सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ । बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ ।

 

२८० मेगावाट विद्युत क्षमताको धौलीगंगा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्व सूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । विस २०७० सालमा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौको क्षति गरेको थियो ।

 

दार्चुलादेखी बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।