एसियाड: प्याराग्लाइडिङमा नेपालले जित्यो पदक

काठमाडौं, भदौ १३ । १८ औं एशियाली खेलकुद (एसियाड) मा नेपालले प्याराग्लाइडिङमा रजत पदक हात पारेको छ। इण्डोनेसियामा जारी एसियाडमा क्रस कन्ट्री इभेन्टको अन्तिम चरणमा नेपाल दोस्रो हुँदै प्याराग्लाइडिङमा रजत पदक हात पार्न सफल भएको हो।

 

प्रशिक्षक तथा व्यवस्थापक योगेश भट्टराईका अनुसार रजत पदक उचालेको नेपालको पुरुष टिमले क्रस कन्ट्री स्पर्धामा ११ हजार ३ सय ६४ अंक ल्याएको थियो। स्वर्ण पदक जितेको जापानले जापानले १२ हजार ३ सय ९२ अंक जोडेको थियो।

 

उनका अनुसार नेपाललाई रजत पदक जिताउने क्रममा नेपाली पुरुष टोलीमा विमल अधिकारीको नेतृत्वमा पाँच सदस्यीय टोली थियो। टोलीको सदस्यहरुमा विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा थिए। नेपालले २० वर्षपछि एसिडामा रजत पदक उचाल्न सफल भएको हो।

 

यसअघि सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई रजत पदक दिलाएकी थिइन्। नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो संस्करणदेखि एसियाडमा भाग लिँदै आएको छ।

 

अन्तिम चरणको खेलमा नेपालका सबै खेलाडी सफल अवतरण गरेका थिए। नेपालले एशियाली खेलकुदमा कराँते, बक्सिङ र तेक्वान्दोमा पदकको आश गरेपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।