एशियामा २ लाख ४० हजार विमान चालक अावश्यकता पर्ने

एजेन्सी। यदी तपाईंलाई रोजगारी चाहिएको छ भने तपाईं विमान चालकको प्रशिक्षण लिएर चीन जान सक्नुहुन्छ । विमान कम्पनी बोइङका अनुसार आगामी दुई दशकमा एशिया प्रशान्त क्षेत्रमा ठूलो संख्यामा पाइलट र प्राविधिकको आवश्यकता पर्ने पूर्वानुमान गरेको छ ।

यस क्षेत्रमा भइरहेको आर्थिक विकासले सम्पत्तिमा बृद्धि हुने र यात्राको अनुपात बढ्ने बताउँदै बोइङले सन् २०३७ सम्ममा २ लाख ४० हजार पाइलट तथा ३ लाख १७ हजार क्याबिन क्रुको आवश्यकता पर्ने जनाएको छ ।

चीनमा यसको आधा जनशक्ति खपत हुने बताइएको छ ।

यो पूर्वानुमानले हाल पाइलटको कमीको समस्या खेपिरहेको उद्योगलाई थप दबाब सृजना गरेको छ । आगामी दशकमा धेरै पाइलटहरुले अवकास पाउने हुँदा हेलिकप्टर पर्यटन र निजी लक्जरी जेटजस्ता हवाई सेवामा जनशक्तिको माग बढिरहेको छ ।

बोइङका अनुसार चीनमा मात्र १ लाख २८ हजार ५ सय नयाँ पाइलट आवश्यक पर्नेछ भने दक्षिणपूर्वी एसियामा ४८ हजार ५ सय तथा दक्षिण एसियामा ४२ हजार ७ सय ५० पाइलट आवश्यक पर्नेछ । बोइङका अनुसार विश्वको यात्रुवाहक विमान उत्पादनको ४० प्रतिशत विमान एशिया प्रशान्त क्षेत्रमा खपत हुनेछ ।