सरकारसँग वार्तामा नगर्ने विप्लवको घोषणा

काठमाडौं, भदौ १४ । विप्लव नेतृत्वको नेकपाले सरकारसंग बार्तामा नवस्ने अडान राखेको छ । नेकपाले सरकारसंग बार्तामा बस्नुको कुनै औचित्य नरहेको अडान राखेको छ । आफ्ना कार्यकर्तालाई थुनामा राख्दैमा क्रान्ति नरोकिने भन्दै नेकपाका महासचिब नेत्रबिक्रम चन्द ‘विप्लव’ले मंगलबार जारी गरेको बिज्ञप्तीमा भनिएको छ–‘सरकारले बार्ताको आह्वान गरेर नाटक रचेको छ । यो वार्ताको आह्वान मिठाईको लेपन लगाएको बिषको चक्की मात्र हो ।

 

बार्ताको कुनै अर्थ नरहेको समेत सो पार्टीले जनाएको छ । पछिल्लो समय बिप्लवका प्रभावशाली नेताहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । चन्दा आतंकको नाममा प्रहरीले मुद्दा परेको भन्दै सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, महिला नेतृ उमा भुजेल लगायतका एक दर्जन नेतालाई पक्राउ गरेको छ ।

 

केहिदिन अघि सरकारले द्वन्द्वरत समूहसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन गरेको थियो । टोलीमा सुरेश आले मगर, ताराकान्त चौधरी, लिला भण्डारी र गृह मन्त्रालयले तोकेको एक जना सहसचिव सदस्य रहनुभएको छ ।

 

यसैबीच पार्टीका प्रवक्ता प्रकाण्डलाई सरकारले नियत राखेरै पक्राउ गरेको भन्दै वार्ता टोलीसँग छलफल गर्नुको कुनै औचित्य नभएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनाएको हो ।

 

उच्चस्तरीय वार्ता टोलीले भने सबै राजनितीक संगठनलाई वार्तामा आउन आह्वान गरेको छ । विप्लव नेतृत्वको नेकपा लगायत तराईमा रहेका सशस्त्र समूहसँग वार्ता गर्न सरकारले सोमप्रसाद पाण्डेको संयोजकत्वमा बार्ता समिती गठन गरेको छ । सो समितीमा पाँचजना सदस्य छन् । द्वन्द्वरत समूहलाई वार्ताको माध्यमबाट देश निर्माणको काममा अगाडि बढ्ने उद्देश्यका साथ कार्यदल गठन भएको हो ।

 

सरकारी वार्ता टोलीले केहिदिनभीत्रै बार्ता लगायत समस्या सम्बोधनको काम थाल्ने गरी तयारी थालिएको जनाएको छ । वार्ता टोलीका संयोजक सांसद सोमप्रसाद पाण्डेले बार्ता प्रकृया अब अघि बढ्ने भन्दै विभिन्न समूहहरूसंग केहिदिनमै छलफल गरिने नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

 

विप्लव नेतृत्वको नेकपालाई सरकारले उच्च निगरानीमा राखेको छ । केहिदिन अघि गहृमन्त्री रामबहादुर थापा बादलले नेकपाका प्रबक्ता प्रकाण्ड पक्राउ परेपछि अपराधीक कृयाकलाप गरिए जो कोहिलाई नछोडिने प्रतिकृया दिनुभएको थियो । नेपाल समाचारपत्रबाट