एसिया कप छनोट : नेपाल दोस्रो खेलमा पनि पराजित

काठमाडौँ, भदौ १४ ।  एसिया कप छनोटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाल दोस्रो खेलमा युएईसँग ७८ रनले पराजित भएको थियो । युएईले नेपालसामु जीतका लागि २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, नेपाल ४८.५ ओभरमा मात्र १७६ रनमा अलआउट हुन पुग्यो ।

 

नेपालका लागि सुवास खकुरेलले सर्वाधिक ५० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ४० तथा सोमपाल कामीले २७ रन बनाए । नेपालका ६ खेलाडीले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।

 

युएईका लागि अहमद राजाले ४ तथा मोहमद नाभिदले ३ विकेट लिए । मलेसियाको राजधानी क्वालालम्पुरमा भएको खेलमा नेपालले युएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको थियो । पहिलो ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५४ रन बनायो ।

 

तर, कप्तान पारसको यो निर्णय गलत साबित हुनपुग्यो । युएईका ओपनरले अर्धशतीयक साझेदारी गर्दै टोलीलाई राम्रो शुरुवात दिलाए ।

 

ओपनर मोहमद असफाक अहमद ४५ रन बनाएर १२ औँ ओभरमा आउट हुनअघि उनले ४५ रन बनाए । कप्तान रोहन मुस्तफा १ रनमा आउट भएपछि रामिज शहजाद र चिराग सुरीले खेल सम्हाले । सुरी रनआउट हुनअघि टोलीका सर्वा्धिक ६५ रन बनाए भने शहजादले ३५ रनको योगदान दिए ।

 

त्यस्तै, अदनान मुफ्तीले अर्धशतक बनाएपछि युएई विशाल योगफल तर्फ लम्कियो । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २४ रन खर्चदै चार विकेट लिए भने । बसन्त रेग्मी र सोमपाल कामीले २–२ विकेट लिए ।