एक सातादेखि लगाइँदै आएको कञ्चनपुर कर्फ्यु हटाइयो

कन्चनपुर, भदौ १४ । एक सातादेखि कन्चनपुरको भीमदत्त नगरपालिकामा लगाइँदै आएको कर्फ्यु बिहीबारदेखि पूर्णरुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय कन्चनपुरमा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भीमदत्त नगरपालिकाको जनजीवन सामान्य बन्दै गएपछि कर्फ्यु हटाउने निर्णय गरेको हो ।

 

गत शुक्रबारदेखि दिउँसो र राति गरी कर्फ्यु लाग्दै आएको थियो । जनजीवन सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले कर्फ्युलाई खुकुलो पार्दै आएको थियो ।

 

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जनजीवन सामान्य बन्दै गएकाले कर्फ्यु पूर्णरुपमा हटाइएको जानकारी दिए । १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै भएको प्रदर्शनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। रासस