बिमस्टेकलाई परिणाममुखी बनाउन एकमत

काठमाडौं, भदौ १५ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले सशक्त र परिणाममुखी क्षेत्रीय सहकार्यमा जोड दिएका छन् ।

 

चौथो सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनीहरुले शान्ति, समृद्धि, कनेक्टिभिटी, व्यापार, पर्यटन, ऊर्जा, कृषि, यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारणलाइनको आवश्यकता औंल्याए । बिमस्टेक वडापत्र, सचिवालयको संस्थागत सुदृढीकरण, बिमस्टेक कोष स्थापनाको खाँचो रहेकोमा राष्ट्रप्रमुख र सरकार प्रमुखले जोड दिएका छन ।

 

सम्मेलन आयोजक राष्ट्रका अध्यक्ष एवं नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकलाई दक्षिणपूर्व र दक्षिण एसिया जोड्ने सेतुका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । बिमस्टेकलाई विचार, पहिचान र उद्देश्यका रुपमा हेर्न आग्रह गर्दै उहाँले भन्नुभयो– ‘त्यो भन्दा माथि हामी सबैको पहिचान हो ।’ क्षेत्रीय सहकार्यका लागि कनेक्टिभिटी अपरिहार्य रहेको बताउँदै प्रधानमन्त्री ओलीले यसका लागि सडक सञ्जाल, जलमार्ग, रेलमार्गसँगै ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणमा नवीनतम अभ्यास जरुरी रहेको बताउनुभयो ।

 

बिमस्टेक क्षेत्रमा भौतिक सम्पर्क र सम्बन्ध विस्तारका लागि बुद्धिस्ट सर्किटको अवधारणालाई मूर्तरुप प्रदान गर्न सकिने उहाँको भनाइ थियो । क्षेत्रीय सहकार्यसँगै उपक्षेत्रीय बीबीआईएन (बंगलादेश–भुटान–भारत– नेपाल) संयन्त्रलाई अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताउँदै ओलीले भन्नुभयो– ‘तर सार्क र बिमस्टेक एकअर्काको प्रतिस्थापक नभई परिपूरक हुन् ।’ बिमस्टेक मुलुकहरु एउटै हिमालयको काख र बंगालको खाडीको समीपमा रहे पनि जलवायु परिवर्तन, भूकम्प, बाढीपहिरोजस्ता प्रकोप चुनौतीका रुपमा रहेको उहाँले बताउनुभयो । नेपाल समाचारपत्रबाट