भारतीय प्रम मोदीलाई लुम्बिनी भ्रमणको निम्तो ,धर्मशाला दुई देशलाई जोड्ने पुल

काठमाडौँ, भदौ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतमैत्री पशुपतिनाथ धर्मशाला दुई देशलाई जोड्ने पुल भएको बताउनुभएको छ ।

भारत सरकारको सहयोगमा निर्माण भएको उक्त धर्मशालाको शुक्रबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीचको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउनमा धर्मशाला महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रधानमन्त्री ओलीले भन्नुभयो, “पशुपतिनाथलाई देखिने र बुझ्ने गरी पवित्र धार्मिक स्थलका रुपमा विकास गर्नुपर्छ, स्नान गर्न सकिने गरी वागमतीलाई सफा बनाइनुपर्छ । ज्ञान, दर्शन र सभ्यताको उद्गमस्थल भएकाले पनि यस क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्छ । अब यसको पुनर्जागरण गर्नुपर्छ ।” उहाँले समृद्ध नेपाल र सुखी नेपालीको अभियान पूर्वीय दर्शनको ‘सर्वे भवन्तु सुखिनः’ को भावनाअनुसार नै गर्न लागिएको उहाँले बताउनुभयो ।

 

सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले धर्मशाला दुई देशका जनता जनताबीच सम्बन्ध बढाउने माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो । “विश्वमा शिवभक्त जीवनमा एक पटक पशुपतिनाथको दर्शन गर्न चाहन्छन्, मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर र लुम्बिनीले नेपालको विविधतामा एकता ल्याई प्रतिनिधित्व गर्छ, धर्मशालाले धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्नेछ”, उहाँले भन्नुभयो ।

 

प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र दामोदर दास मोदीले आज साँझ उक्त धर्मशालाको संयुक्तरुपमा समुद्घाटन गर्नुभएको हो ।

 

सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले रामायण र बुद्ध परिपथले दुई देशबीचको सांस्कृतिक सम्बन्ध र जनता जनताबीच सम्पर्क बढाउन मद्दत गर्ने बताउनुभयो ।

 

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रलाई उदाहरणीय धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न धर्मशालाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

 

मोदीलाई लुम्बिनी भ्रमणको निम्तो

 

धर्मशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणको निम्तो दिनुभयो ।

 

प्रधानमन्त्री मोदीको अघिल्लो पटक जनकपुर र मुक्तिनाथ मन्दिरको भ्रमणले नेपालको पर्यटनमा उल्लेख्य योगदान पुगेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तपाईंको लुम्बिनी भ्रमणले बुद्धको जन्मस्थल, बुद्ध धर्मको महत्व र लुम्बिनीलाई बुद्धदर्शनको मुहानका रुपमा विश्वव्यापीरुपमा चिनाउन थप मद्दत मिल्नेछ ।”

 

मोदी प्रधानमन्त्री भएपछि चौथो पटक नेपाल भ्रमण गर्नुभएकामा प्रधानमन्त्री ओलीले प्रशंसा गर्दै यसबाट आपसी आत्मीय सम्बन्ध अझ मजबुत हँुुदै गएको बताउँदै आफू पनि दुई पटक औपचारिक भ्रमणमा भारत गएको स्मरण गर्नुभयो ।

 

यसअघिका भ्रमणमा मोदीले उठाएका आपसी सहयोग र सद्भावका कुरा क्रमशः व्यवहारमा देखिएकामा नेपाल प्रशन्न भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “यसअघिका भ्रमणमा देखाउनुभएको सद्भाव र मित्रता अहिले प्रकट भइरहेको महशुस गरेका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।रासस