प्रधानमन्त्रीको निर्देशनमा एकाएक राजीनामा दिए ३ जना मन्त्रीले

एजेन्सी। यसकै पछिल्लो उदाहरण हो- बुल्गेरियाका मन्त्रीको राजीनामा । बस दुर्घटनामा मानवीय क्षति भएको भन्दै त्यहाँका मन्त्रीले राजीनामा दिएका छन् । यसरी राजीनामा दिने मन्त्रीको संख्या १ होइन, ३ छ ।

 

पर्यटक बस दुर्घटनापछि त्यहाँको सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन् । तीनै जना मन्त्री बोरिसोब्स सेन्टर-राइट सीईआरबी पार्टीको तर्फबाट मन्त्री बनेका थिए ।

 

पश्चिम बुल्गेरियाको राजधानी सोफियाबाट ५० किलोमिटरको दूरीमा पर्ने पश्चिम भागमा अघिल्लो शनिबार पर्यटक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो । १३ को घटनास्थलमै र ४ जनाको उपचारको क्रममा मृत्यु भएको एपीले जनाएको छ ।

 

प्रहरीको प्रारम्भिक अनुसन्धानले बस चालकलाई मात्रै दुर्घटनाको दोषी देखाएको भए पनि त्यहाँको सरकारको चर्को आलोचना भएको थियो । आलोचनापछि बुल्गेरियाका प्रधानमन्त्री बोय बोरिसोभले ३ मन्त्रीलाई राजीनामा दिएर नैतिकता देखाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको त्यस्तो निर्देशनसँगै ३ मन्त्रीले दुर्घटनाको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन् ।

 

‘हामी तीन मन्त्रीहरु यातायात मन्त्री इभायलो मोस्कोभस्की, आन्तरिक मामिला मन्त्री भ्यालेन्टायन राडेभ र मैले राजीनामाको बाटो रोजेका छौं’, क्षेत्रीय विकास तथा सार्वजनिक सेवा मन्त्री निकोलाय नान्केभले शुक्रबार राजीनामाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने ।