पृथ्वीनारायणका १० दिब्य उपदेशहरू हरेक नेपालीले थाहा पाउनै पर्ने

काठमाडाै। राजा पृथ्वीनारायण शाहले उपत्यका लगायत बाइसी चौबिसी राज्य जितेर नेपाल एकीकरण गरेका थिए ।नरभूपालशाह र रानी कौशल्यावतीको दाम्पत्यबाट गर्भ रहेको सात महिनामा नै (वि.सं.१७७९) जन्मेका पृथ्वीनारायणको लालनपालन, रेखदेख र शिक्षा दीक्षा भने जेठी महारानी चन्द्रप्रभादेवीबाट भएको हो ।

 

बीस वर्षे युवा अवस्थामा पृथ्वीनारायण गोरखा राज्यको गद्दीमा बसेका थिए । राजा भएलगत्तै नेपालको एकीकरणको महाअभियानमा होमिए पनि यसरी सतत् रूपमा युद्ध र संघर्ष गरेका उनी बाउन्न वर्षको उमेरमा जीर्णकायका भए ।

 

यसबेलासम्म पूर्वमा पल्लो किराँतसम्मका पहाडी भू-भागका साथै गण्डकी नदीदेखि कनकाइ नदीसम्मका तराई क्षेत्र पनि एकीकरणको दायराभित्र आइसकेका थिए। कीर्तिपुरको युद्धमा उनी आफै पनि झण्डै मारिएका थिए ।

 

उनले जीवनको अन्तिम क्षणमा आफ्ना दरबारिया तथा जनताका नाममा भाइभारदारहरूलाई जम्मा गरी सुनाएका कुराहरु नै दिब्य उपदेश हुन् । यो उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र मननयोग्य छ । यो उपदेश नुवाकोट देवघाट नजिक पृथ्वीनारायणले मौखिक बताउने र उपस्थित कोही कसैले लिपिबद्ध गरेका हुन् ।

 

कसले लिपिबद्ध गरेको भन्ने प्रष्ट एकीन नभए पनि उनका एक प्रिय सेनापति ‘बरब्शी’ अभिमानसिंह बस्नेतले पनि सारेर राखेका थिए भन्ने इतिहासमा उल्लेख छ । यिनैका वंशधर बखतमान सिंह बस्नेतको सौजन्यबाट इतिहास शिरोमणि बाबुराम आचार्यले प्राप्त गरी बाबुराम आचार्य र योगी नरहरिनाथको अथक प्रयासबाट पहिलो पटक छापिएको हो । उनको मृत्यु भने १८३१मा भएको थियो ।

 

दिब्य उपदेशमा उनका हरेक वाक्यको ठूलो महत्व छ तर यहाँ हामीले १० वटा यस्ता दिब्य उपदेश प्रस्तुत गरेका छौ जुन हरेक सच्चा रास्ट्रप्रेमी नेपालीले एक पटक पढ्नैपर्ने खालका छन् ।

 

१- स्रोत साधनको सदुपयोग

पृथ्वीनारायण शाहले स्रोत साधनको सदुपयोगका लागि सुझाव दिएका छन् । उनले खानी भएको ठाउमा गाउ भए पनि गाउलाई अन्यत्र सारेर खानी चलाउनु पर्ने तथा उब्जनी योग्य जमिनमा बनेको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्ने बताएका छन् ।

२- अदालतको पैसा दानमा खर्चिनु

पृथ्वीनारायण शाह धार्मिक राजा हुन् । त्यसो त एकिकरणका क्रममा उनका थुप्रै धार्मिक यात्रा अध्ययन गर्न पाइन्छ । उनले दिएको उपदेशमा पनि धर्म कर्मका कुरालाई बिशेस प्राथमिकता दिएको पाइन्छ । उनले अदालतको पैसा दरबारमा नलैजान र त्यसको सदुपयोग जोगी, सन्यासी र ब्रह्मानलाई भोजन गराउन सुझाएका छन् । यसो गरे असत्य दोष नलाग्ने उनको बुझाइ छ ।

३- मुलुकमा अन्याय हुन् नदिनु

पृथ्वीनारायण शाहको यो दिब्य उपदेश हरेक नेतृत्वबर्गले हेक्का राख्नुपर्ने देखिन्छ । नेतृत्वबर्गले न्याय निसाफलाई ख्याल गर्न उनले सुझाएका छन् । भ्रस्टाचारीले न्याय निसाफ बिगार्ने र यिनलाई जस्तोसुकै कारबाही गरे पनि पाप नलाग्ने उनको उपदेशमा उल्लेख छ ।

४- सुरक्षानिकाय र जनताप्रति बफादार

उनी सिपाही अर्थात सुरक्षाकर्मी र जनताप्रति कतिसम्म बफादार रहेछन भन्ने कुरा उनको यो उपदेशबाट प्रस्ट हुन्छ । उनले लडाईमा मरेका सिपाहीका सन्ततीलाई प्रोत्साहन गर्न बिभिन्न सुझाव दिएका छन् ।

५-आत्मनिर्भरको अभ्यास

पृथ्वीनारायण शाहले दिएका दिब्य उपदेशमा आत्मनिर्भरका कुराहरु पनि उल्लेख छन् । उनले बिदेशीलाई देशमा भित्र्याउदा मुलुकलाई कंगाल बनाउन सक्ने भन्दै सुझाएका छन् । देश भित्रै कपडा बनाउन र त्यसका लागि प्रशिक्षण दिन पनि उनले आग्रह गरेका छन् ।साथै उनले त्यति बेला देश भित्रको नगद बाहिर नजाओस भनेर बिभिन्न योजनाहरु पनि बनाएका थिए । उनले जनता मोटाउनु भनेको दरबार बलियो हुनु हो भनेका छन् ।

६- सबै मिलेर मुलुकको रक्षा गर्नु

उनको यो उपदेश निकै लोकप्रिय छ । यो उपदेशमा उनको राष्ट्रभाव मात्रै पोखिएको छैन सारा जनतालाई राष्ट्रप्रेम जगाएको छ ।

७- चीनसँग सम्बन्ध राख्नु भारतसँग सतर्क रहनु

नेपाल दुई ढुंगाको तरुल जस्तो रहेको भन्दै पृथ्वीनारायण शाहले दक्षिण छिमेकी सँग सतर्क रहन उहिले भनेका थिए । दक्षिणका बादशाह ‘महाचतुर’ रहेको भन्दै उनले सुरक्षा सतर्कता बढाउन सुझाएका छन् । साथै उनले जाइ नलाग्न र जाइ लाग्नेलाई नछोड्न पनि उपदेश दिएका छन् ।

८- काठमाडौँको सुरक्षा

उनले त्यति बेला राजधानी काठमाडौँलाई निकै संबेदनशील क्षेत्रका रुपमा लिएका थिए । त्यसो त शिवपुरी, चन्द्रागिरी,फूलचोक, महादेवपोखरी, पालु, दाप्चा, काहुल्या लगायतका सिमानामा सुरक्षा ब्यबस्था कडा बनाउन भनेका छन् ।

९- गुणको होइन नुनको पछि लाउनु

पृथ्वीनारायण शाहले गुणको भन्दा पनि नुनको पछि लाग्नु पर्ने उपदेश दिएका छन् । आफ्नो सिपाहीलाई अरुले लोभ लालचमा पार्लान भन्ने सतर्कताका साथ उनले सुझाब दिएका छन् जुन अझै पनि उत्तिकै सान्दर्भिक छन् ।

१०- मौलिक सांस्कृतिक प्रेम

आफ्नो देशको मौलिक सस्कृतीप्रतिको उनको क्रेज यो उपदेशबाट प्रष्ट हुन्छ । आफ्नो सस्कृतीको संरक्षण र जगेर्ना आजको आबश्यक बनेको छ ।