एसिया कप छनोटमा नेपालकाे पहिलो जित मलेशिया १९ रनले पराजित

काठमाडौं, भदौ १६ । एसिया कप छनोटमा नेपालले शनिबार पहिलो जित हासिल गरेको छ । शनिबार भएको समूह चरणको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई १९ रनले पराजित गरेको हो । यसभन्दा अगाडि भएका खेलमा भने नेपालले ओमान र युएईसँग पराजित भएको थियो ।

 

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ८८ रन बनायो । बर्षाको कारण खेल ढिला सुरु हुँदा खेल ३० ओभरमा झारिएको थियो ।

 

बायुमास ओभलमा नेपालले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ६९ रन बनाउन सक्यो । मलेसियाका लागि अनवार अरुदीन र साईद अजाजले सर्वाधिक समान ३४्/३४ रन बनाएका थिए । नेपालका सोमपाल कामी, सन्दिप लामिछाने र बसन्त रेग्मीले समान २/२ विकेट लिएका थिए ।

 

जितसंगै नेपालले तालिकामा २ अंक जोडेको छ । नेपालले एसिया कप खेल्ने सम्भावना कायम राखेको छ । अब नेपालले आइतबार सिंगापुरसंग खेल्नेछ ।