जनतालाई विकासको प्रत्याभूति दिनुपर्नेः नेता पौडेल

दमौली, भदौ १७ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई विकासको प्रत्याभूति दिन सक्नुपर्ने बताएका छन् ।आदिकवि भानुभक्त क्याम्पसको ३२्औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित बृहत् सामुदायिक स्वास्थ्य शिविरको केशवटारमा उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् ।

 

वर्तमान सरकारले विकासभन्दा पनि हल्लामात्र बढी गरेको धारणा राख्दै नेता पौडेलले काङ्ग्रेसले प्रतिपक्षमा रहेर सरकारको गलत क्रियाकलापको खबरदारी गर्दै आएको उल्लेख गरे ।

 

उनले दुरदराजमा रहेका बासिन्दालाई यस्ता शिविरले उनीहरुको स्वास्थ्य समस्याको समाधानमा सहयोग पु¥याउने धारणा राखे ।

 

आदिकवि भानुभक्त क्याम्पस प्राध्यापक सङ्घ क्याम्पस इकाइ, व्यास नपा वडा नं १४ र केशवटार माविको संयुक्त आयोजना र तथा नेपाल स्वास्थ्यकर्मी सङ्घ गण्डकी प्रदेश र कास्की सेवा हस्पिटल प्रालिको प्राविधिक सहयोगमा सो बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

 

शिविरमा ७०० जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा वालरोग, दन्तरोग, महिला तथा प्रसूतिसम्बन्धी रोग, हाडजोर्नी तथा नशा रोग, नाक, कान घाँटी, पेट र छाती मुटुसम्बन्धी रोगको परीक्षण गरिएको थियो । रासस