सासूको हत्या आरोपमा बुहारी पक्राउ

दाङ, भदौ १७ । आफ्नै सासूलाई बोक्सीको आरोप लगाइ हत्या गरी फरार भएकी एक महिलालाई शनिबार इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी सार्वजनिक गरेको छ ।

 

दाङको दङ्गीशरण गाउँपालिका वडा नं ३ की ६९ वर्षीया खोपी रावतलाई हत्या गरी फरार रहेकी बुहारी टङ्की रावतलाई आज इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

 

पत्रकार सम्मेलनमा घटनाका बारेमा जानकारी दिनुहँुदै इप्रका तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले गत भदौ २ गते झारफुक गराउन भनी घरबाट सल्यानको कपुरकोट पुगेका सासूबुहारी भोलिपल्टसमेत घर नफर्केको र उनीहरुको साथमा रहेको मोबाइ स्वीच अफ भएको भन्दै परिवारका सदस्यले इलाका प्रहरी कार्यालय तुलसीपुरमा खोजतलासका लागि जाहेरी दर्ता गराएका थिए ।

 

सोहीअनुरुप प्रहरीले खोजतलाश तथा अनुसन्धानलाई तीव्र पारेको थियो । अनुसन्धानका क्रममा शुक्रबार बिहान सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं २ को शिव मन्दिर सामुदायिक वनको भकमको भिर जङ्गलमा खोपी रावतको शव फेला परेको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार शवको प्रकृति हेर्दा निजलाई कोही कसैले कर्तव्य गरी मारेको हुनसक्ने आशंका गरेको थियो । ४० वर्षीय टङ्कीमाथि शङ्का गरी खोजतलाश गर्दा उनी कपिलवस्तु जिल्लाको कृष्ण नगरमा लुकिछिपी बसेको अवस्थामा आज इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले फेला पारी पक्राउ गरेको हो ।

 

पक्राउ परेकी टङ्कीले आफूले सासूको लाँठी र हसियाँ प्रहार गरी गत भदौ ५ गते हत्या गरेको प्रहरीसमक्ष बयान दिएकी छन् । उनले प्रहरीसमक्ष आफू सधँै लगातार बिरामी परिरहने र सोही क्रममा धामीझाँक्री कहाँ जारफुक गराउन जाँदा सासू नै बोक्सी रहेको र निको नहुने बताएपछि आफूले योजना बनाएर हत्या गरी फरार रहेको बताएकी हुन् ।

 

पक्राउ परेकी टङ्कीलाई घटनास्थल सल्यान जिल्लामा पर्ने भएकाले कारवाहीका लागि शनिबार नै जिल्ला प्रहरी कार्यालय सल्यानमा पठाइएको प्रहरी नायब सापकोटाले जानकारी दिनुभयो । रासस