राहुल ल्हासामा, २२ घन्टा काठमाडौंमा के-के गरे ?

काठमाडौं भदाै १७। भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी २२ घन्टा काठमाडौंमा रहेर तिब्बतको ल्हासा प्रस्थान गरेका छन् । शुक्रबार काठमाडौं आएका गान्धी शनिबार दिउँसो ल्हासा प्रस्थान गरेका हुन् ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साधारण प्रवेशबाट अध्यागमन चेकजाँच गराएका उनी एयर चाइनाको नियमित उडानबाट ल्हासा उडेका हुन् । नितान्त धार्मिक भ्रमणमा आएका उनी आएर तिब्बत गएको धेरैले थाहा पाएनन् ।

 

उनी नेपालगन्जबाट हिल्सा हुँदै ल्हासा जाने चर्चा चलेको थियो । त्यसैले शनिबार बिहान नेपालगन्जमा सञ्चारकर्मी राहुलको तस्बिर खिच्न प्रतीक्षारत थिए । काठमाडौंस्थित डोमेस्टिक एयरपोर्टमा पनि बिहानैदेखि फोटो पत्रकार कुरिरहेका थिए । बिहान १० बजेतिर प्रहरी स्रोतबाट जानकारी आयो, राहुल सीधै ल्हासा जाने भए ।

 

त्यसपछि पत्ता लाग्यो, राहुल एयर चाइनाको दिउँसोको उडानबाट ल्हासा हुँदै मानसरोवर जानेछन् । सुरक्षासम्बद्ध स्रोतका अनुसार गान्धीको यो पूर्वनिर्धारित कार्यक्रम हो । उनको इच्छाअनुसार रुट गोप्य राखिएको हो । उनी आउनुअघि भारतको स्पेसल प्रोटेक्सन ग्रुप ९एसपिजी०ले सुरक्षाजाँच गरिसकेको थियो ।

कूटनीतिक राहदानी, साधारण यात्रा

अध्यागमन स्रोतका अनुसार डी ११२६६५० नम्बरको कूटनीतिक राहदानीमा गान्धी आएका थिए । नयाँ पत्रिकालाई प्राप्त राहदानीको फोटोकपीअनुसार उनको राहदानी अगस्ट २९ मा जारी भएको छ । ३१ मे २०१९ सम्म राहदानीको म्याद छ । राहदानीमा उनको जन्ममिति १९ जुन १९७० तथा जन्मस्थान नयाँदिल्ली उल्लेख छ ।

पहिल्यै तय थियो काठमाडौं–ल्हासा उडान

सुरक्षा र यातायातका कारण उनी यसअघि नै काठमाडौंबाट सीधै ल्हासासम्म जाने निर्णयमा पुगेका थिए । हिल्साको बाटो सुरक्षित नभएको र नेपालगन्ज हुँदै जान सुरक्षाका हिसाबले उपयुक्त नहुने सुरक्षा निकायले ब्रिफिङ गरेको थियो । दिल्लीबाट सीधै ल्हासा उडान छैन । उनले सिचुआन वा साङघाई भएर ल्हासा जानुपर्ने हुन्थ्यो । सुरक्षा निकायको सुझाबका आधारमा गान्धीले दिल्लीबाट डेढ घन्टामा काठमाडौं र यहाँबाट १ घन्टा २० मिनेटमा ल्हासा पुग्ने छोटो बाटो रोजेका हुन् । उनको यात्रामा आकस्मिक फेरबदल थिएन ।

 

हिल्सामा यस वर्ष मौसम खराबीका कारण पाँच सय भारतीय तीर्थयात्रीलाई उद्धार गर्नुपरेको थियो । छोटो समयमा पुगिने र गोप्यता कायम हुने निष्कर्षसहित गान्धीले मानसरोवर जान नेपालको बाटो रोजेका हुन् । उनी मानसरोवरबाट नेपाल हुँदै भारत फर्किने सम्भावना रहेको भनिए पनि पुष्टि हुन सकेको छैन ।

 

गान्धी शनिबार अपराह्न ल्हासा पुगेका छन् । सुरुमा मानसरोवरनजिकैको सैन्य बेसक्याम्पसम्म हेलिकोप्टरमा र त्यसपछि गाडीमा उनको यात्रा हुनेछ । जानकार स्रोतका अनुसार उनलाई तिब्बत सरकारका अधिकारीले ल्हासा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उनी आइतबार सडकमार्ग हुँदै कैलाश मानसरोवरतर्फ प्रस्थान गर्नेछन् ।

ट्याक्सी छाडेर मारुती गाडी

दिल्लीबाट पौने १२ बजे प्रस्थान गरेका गान्धी शुक्रबार इन्डिगो एयरको उडानबाट अपराह्न पौने २ बजे काठमाडौं विमानस्थलमा ओर्लेका थिए । ‘लो प्रोफाइल मेन्टेन’ गर्दै उनी इन्डिगोबाट आएको बुझिएको छ । विमानस्थलबाट र्‍याडिसन पुगेका गान्धीका लागि कोठा बुकिङ भइसकेको थियो । तर, उनको नाममा होइन । उनको साथमा दुईजना भारतीय थिए । उनीहरू सादा भेषमा आएका सुरक्षाकर्मी हुन् कि सहयोगी भन्ने खुलेको छैन ।

 

त्यहाँबाट उनी ट्याक्सी लिएर बाहिरिन लागेका थिए । तर, एकजना प्रहरी अधिकारीले मारुती गाडी व्यवस्था गरेर होटेल र्‍याडिसन पुर्‍याएका थिए । सुरुमा गान्धीले मारुतीमा जान अस्वीकार गरे । प्रहरी स्रोतका अनुसार गान्धीको भनाइ थियो, ‘यो मेरो नितान्त व्यक्तिगत भ्रमण हो । मलाई तपाईंहरूको सहयोग चाहिँदैन । ट्याक्सीमा म आफैँ जान्छु ।’ तर, प्रहरीको अनुरोधमा गान्धीले निजी गाडी प्रयोग गरे । टिसर्ट र जिन्स पाइन्टमा आएका राहुल त्यही पोसाकमा ल्हासा प्रस्थान गरे । शुक्रबार आएकै गाडीले उनलाई होटेल र्‍याडिसनबाट विमानस्थल पुर्‍याएको थियो । दिल्लीस्थित कंग्रेस स्रोतका अनुसार गान्धी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पनि साधारण प्रवेशद्वारबाट प्रवेश गरेका थिए।

बौद्ध स्तुपा दर्शनदेखि नेवारी भोजन

गान्धीले शुक्रबार साँझ लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा नेवारी खाजा खाएका थिए । काठमाडौंका एक रैथाने मित्रसँग उनले खाजा खाएका थिए । शुक्रबार राति उनी काठमाडौंका एक स्थानीय मारवाडी व्यवसायीसँग बौद्धनाथ स्तुपा घुमघाम गरेका थिए ।

 

उनी राति पाटन र स्वयम्भू पनि पुगेका थिए । बौद्ध स्तुपामा गान्धीले आफ्ना साथी र परिवारसँग तस्बिर खिचाएका थिए । बौद्धको एउटा रेस्टुरेन्टमा मारवाडी परिवारसँगै बसेर उनले पिज्जा खाएको प्रहरी स्रोतले बतायो । तर, हिँडिसकेपछि मात्रै होटेलवालाले राहुल गान्धी हुन् भन्ने थाहा पाएका थिए ।

धर्मराजनीतिक मिसन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार अपराह्न ५ बजेतिर आफूलाई शिवभक्तका रूपमा परिचित गराउँदै २० मिनेट लामो धार्मिक भाषण गरिरहँदा राहुल गान्धी लाजिम्पाटस्थित होटेल र्‍याडिसनमा थिए । तर, मोदीले पशुपतिनाथमा भाषण गर्नुभन्दा पहिला गान्धीको अफिसियल ट्विटरमा कैलाश हिमालको तस्बिरसहित उपनिषद्मा उल्लेखित ‘तमसो मा ज्योतिर्गमय‘’ लेखिएको थियो । मोदी र गान्धीको भेट भएन, तर शुक्रबार ६ घन्टा उनीहरू दुवै नेपाली भूमिमा थिए । गान्धी पौने २ बजे आए भने मोदी साढे ८ बजे दिल्लीतर्फ प्रस्थान गरे ।

 

कंग्रेसका प्रवक्ता रणदीपसिंह सुर्जेवालाले शुक्रबार पाँच ट्विटमार्फत गान्धीको कैलाशयात्राको चर्चा गर्दै भारतीय प्रधानमन्त्री मोदीको चर्को आलोचना गरे । उनले सुरुमा धार्मिक र आध्यात्मिक यात्राका क्रममा गान्धी कैलाश मानसरोवर यात्रामा लागेको सार्वजनिक गरे । कर्नाटक चुनावताका वैशाख अन्तिम साता गान्धी हवाई दुर्घटनाबाट बालबाल बचेका वेला कैलाश मानसरोवर जाने भाकल गरेको सुर्जेवालाले उल्लेख गरेका छन् ।

 

संयोगवश कर्नाटक राज्यको चुनाव हुँदा प्रधानमन्त्री मोदीले २९ वैशाखमा मुक्तिनाथ मन्दिरमा पूजा गरेका थिए । भारतको दूरदर्शन टेलिभिजनले मोदीबाट भएको पूजाको प्रत्यक्ष प्रसारण गरेको थियो । मोदीले पूजा गरेको नभएर भोट मागेको व्याख्या भारतमा त्यसवेला भएको थियो । अहिले धर्मका विषयमा भाजपा र कांग्रेसबीच बहस चलिरहेको छ ।

 

‘दुर्भाग्यवश एक असफल प्रधानमन्त्री र भाजपाले संकुचित एवं द्वेषपूर्ण मानसिकताका आधारमा राहुलजीको यो कैलाश पर्वतको पवित्र यात्राको मजाक उडाएका छन् । यस पावन यात्रालाई हनिमुन टुरिज्म घोषित गरेर भाजपाले हिन्दू धर्मको प्रत्येक सिद्धान्त एवं आस्थामाथि गहिरो प्रहार गरेको छ,’ कंग्रेस प्रवक्ता सुर्जेवालाको ट्विटमा उल्लेख छ ।

 

मोदीको गत अप्रिलको वुहान यात्रा र चिनियाँ राष्ट्रपतिसँग भएको अनौपचारिक भेटलाई पनि विफल भन्दै कंग्रेस प्रवक्ताले अध्यात्म र तीर्थयात्राको महत्व बिर्सेको, कैलाशको महत्वमाथि तल्लोस्तरको राजनीति गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘भोलेबाबाले भाजपालाई सद्बुद्धि देऊन् ।

 

भारतीय सञ्चारमाध्यमले शनिबार दिएको समाचारअनुसार चिनियाँ राजदूत लुओ चाओहुईले भारतीय विदेश मन्त्रालयलाई चिठी लेख्दै चिनियाँ पाहुना गान्धीलाई सेरेमोनियल लन्ज उपलब्ध गराउन आग्रह गरेका थिए । यो खबर सार्वजनिक भएसँगै भाजपाका प्रवक्ता संवित पात्राले ‘भारतीय गान्धी हुन् कि चिनियाँ गान्धी’ भन्दै गान्धीको आलोचना गरेका छन् । मोदी र गान्धीबीच शिवभक्त बन्ने होडबाजीलाई सन् २०१९ मा हुने लोकसभाको भोटको राजनीतिक प्रतिस्पर्धाका रूपमा हेर्न थालिएको छ ।  आजको नयांपत्रिका दैनिकबाट ।