नेकपा नेता विदेशमै व्यस्त, विदेश जाने तयारीमा को-को ?

काठमाडौं भदाै १७। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता विदेश भ्रमणमा व्यस्त हुँदा पार्टी काम प्रभावित हुन थालेका छन् ।

पार्टी अध्यक्षदेखि सचिवालयका नेता विदेश यात्रामा रहँदा जनसंगठन तथा पार्टीका तल्लो कमिटी (प्रदेश तथा जिल्ला कमिटी) को एकीकरण प्रक्रिया प्रभावित भएको छ । ९ सदस्यीय सचिवालयमा अहिले दुईजना विदेशमा भने दुई नेता विदेश जाने तयारीमा छन् । वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका र ईश्वर पोखरेल लेवनानमा छन् ।

 

भारत सरकारको निमन्त्रणमा अध्यक्ष पुष्पकमल दाहाल २२ भदौमा भारतको ५ दिने भ्रमणमा जाँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपाको एउटा टोली चीन जाँदैछ । श्रेष्ठ नेतृत्व टोलीको भ्रमणलाई सचिवालय बैठकले अनुमोदन पनि गरिसकेको छ । श्रेष्ठ चीनमै रहेका बेला अध्यक्ष दाहाल असोज १ मा चीन भ्रमणमा जाने कार्यक्रम छ ।

 

शीर्ष नेताहरू विदेशमा रहेपछि १९ र २० भदौका लागि बोलाइएको स्थायी समिति बैठक प्रभावित हुने देखिन्छ । वरिष्ठ नेता नेपाल भदौ २० र पोखरेल लेवनान–पोल्यान्ड हँदै भदौ २३ मा स्वदेश फर्कनेछन् । अमेरिकाको सिकागोमा आयोजित नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल १४ भदौमा त्यसतर्फ गएका थिए । पोखरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गतको लेबनानस्थित नेपाली शान्ति मिसन अवलोकनका गएका हुन् ।

 

नेकपा केन्द्रीय सदस्य जगन्नाथ खतिवाड शीर्ष नेताहरूको ब्यस्त कार्यतालिकाका कारण स्थायी समिति बैठक प्रभावित हुन सक्ने बताउँछन् । ‘वरिष्ठ नेता नेपाल अमेरिका भ्रमणमा हुनुहुन्छ । अध्यक्ष पुष्पकमल दाहाल भारत भ्रमणमा जाने तयारीमा हुनुहुन्छ’, खतिवडाले भने, ‘यसले पार्टी स्थायी समिति बैठक सर्ने सम्भावना छ ।’

 

एकता प्रक्रियाको महत्वपूर्ण निर्णय वरिष्ठ नेता नेपालको अनुपस्थितिमा दुईअध्यक्ष केपी ओली र पुष्पकमल दाहालले मात्र लिन सक्ने अवस्था अहिले छैन ।

 

यसअघि नेकपाले पार्टीका तल्ला कमिटी तथा जनसंगठनको एकीकरणका काम टुंगो लगाउन भदौ ८ र ९ मा स्थायी समिति बैठक बोलाएको थियो । तर केही जनसंगठन र प्रदेश कार्यादलले प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाइ नसकेको, बुझाएका प्रतिवेदन पनि विवादरहित नभएपछि बैठक १९ र २० गतेका लागि सारिएको थियो ।

 

नेकपाले तीन महिनाभित्र पार्टी एकताको सम्पूर्ण प्रक्रिया टुंग्याउने बताएको थियो । ३ जेठमा पार्टी एकता भए पनि सचिवालय, स्थायी समिति र केन्द्रीय समिति चयनबाहेक अन्य प्रक्रिया पुरा भएको छैन । नेताहरूको विदेश भ्रमण मोहले भदौ महिनाभर यो प्रक्रियाले पूर्णता नपाउने देखिन्छ । आजको अन्नपूर्णपोष्टबाट ।