नेपाल प्रहरीको दादागिरी : प्रहरी हिरासतमै रहेका यादवको मृत्यु

काठमाडौं भदाै १७। सिके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धनमा आबद्ध एक जना कार्यकर्ताको प्रहरी हिरासतभित्रै मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको जानकी गाउँपालिका–६ गनापुरका ३० वर्षीय राममनोहर यादव रहेका छन् ।

 

प्रहरीले उनिसहित तीन जनालाई कार्यक्रम बिथोलेर आतंक सिर्जना गर्न खोजेको आरोप लगाउँदै राज्यविप्लवको मुद्दा दायर गरेको थियो । उनी प्रहरी हिरासतमै बेहोस भेटिएपछि उपचारका लागी नेपालगंज ल्याइएको थियो ।

 

संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित कार्यक्रममा कालो झन्डा देखाउँदै होहल्ला गरेको अभियोगमा उनि गत भदौ ७ मा पक्राउ परेका थिए ।

 

उनको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारको लागी शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले उपचारको लागी उनका भाईसहित एक प्रहरी अधिकृत समेत खटाएको थियो ।

 

उनको उपचारमा लापरवाही भएकाले यादवको मृत्यु भएको उनिहरुको दाबी छ । तर, प्रहरीले भने उनलाई कुनै यातना नदिएको दाबी गरेको छ । नेपाल प्रहरीको ५ नम्बर प्रदेशका प्रमुख डिआईजी शेरबहादुर बस्नेतले यादवको प्रहरी हिरासतमा नभई उपचारका क्रममा मृत्यु भएको बताए ।

 

प्रहरीले उनीसहित बांकेकै हरपाल सिंह, इरफान शेख र राजितराम बर्मालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखेको थियो । उनिहरु चारै जनालाई एउटै कोठामा राखिएको थियो । यादवका आफन्तले प्रहरीको यातनाले उनको मृत्यु भएको आरोप लगाएका छन् ।