बाजुराको विच्छ्या स्वास्थ्य चौकी भवन जीर्ण हुँदा उपचारमा समस्या

बाजुरा, भदौ १७ ।हिमालि गाउँपालिका–१ मा रहेको विच्छ्या स्वास्थ्य चौकी दिन प्रतिदिन जीर्ण बन्दै गएपछि स्वास्थ्य चौकीमा दैनिक आउने विरामीहरुलाई चेक जाँच गर्न निकै समस्या भएको स्वास्थ्य चौकी ईन्चार्ज कमल आचार्यले बताएका छन् । वि.स.२०६६ सालमा स्वास्थ्य चौकीको भवन निर्माण गरिएको थियो ।

 

भवनको चारै तिर चर्केको र भवनमा छाएको जस्तापाताहरुमा समेत प्वाल परेकोले भवनभित्र रहेको सबै औषधिहरु समेत पानीले भिज्ने गरेको स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकी जीर्ण भएपछि प्रसुति गराउन आउने महिलाहरुलाई थप समस्या भएको छ ।

 

प्रसुती सेवा पछि आमाका लागि आराम गर्ने ठाउँ समेत नभएको र भवनका भित्तामा पानी चुहिन थाले पछि औषधि समेत जोगाउन समस्या भैरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

 

बाजुराको अतिदुर्गम मानिदै आएको विच्छ्यामा रहेको स्वास्थ्य चौकीको भवन जीर्ण बन्दै गएपछि दैनिक उपचारमा समस्या हुने गरेको छ ।

 

विच्छ्या स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको छुट्टै भवन समेत नभएपछि सुत्केरी हुने महिलाहरुलाई थप सस्या भैरहेको छ । प्रसुति हुने महिलाहरुको सुविधाका लागि बर्थिङ सेन्टरको जग्गा खरिद गरेको डेढ वर्ष वितिसक्दा पनि आर्थिक अभावका कारण भवन निर्माण हुन स्वास्थ्य चौकीले जनाएको छ ।

 

सामान्य उपचार बाहेक जटिल उपचारका लागि भने स्वास्थ्य चौकीबाट ३/४ दिनको पैदलदुरी हिँडेर कोल्टी स्वास्थ्य चौकी वा जिल्ला सदरमुकाम मार्तडीमा आएर उपचार गराउनु पर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् ।

 

स्थानीय स्तरमा जनप्रतिनिधि आएपछि सो क्षेत्रमा बर्थिङ सेन्टरको भवन निर्माणका लागि पटक पटक वडा कार्यालय र गाउँपालिकाको कार्यालयका बैठकमा कुरा राख्दा कसैले चासो नदिएको स्थानीय धर्मराज सुनारले बताएका छन् ।