वम विष्फोट गराउने पक्राउ

विराटनगर, भदौ १७ । विराटनगर महानगरपालिकाभित्र वम विष्फोटन गराउने कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सार्वजनिक गरेको छ । गत साउन २७ गते महानगरपालिकाको कार्यालयको परिसरभित्र प्रमुखको कार्यकक्ष बाहिरपट्टि सोफामुनि राखिएको वम विष्फोटन भई मानवीय क्षति नभए पनि भौतिक सम्पत्तिमा क्षति पुगेको थियो ।

 

अपराह्न २ बजे भएको सो घटनास्थल पुगेका प्रहरीले लगातार छानबिन र अनुसन्धान शुरु गरेपछि सिसिटिभीको माध्यमबाट तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुरपतार गाउँपालिका–३ निवासी अभिमनु गिरी, मोरङ जहँदा गाउँपालिका–२ हरिनगर निवासी मनोजकुमार सिंह र सिरहा सुखिपुर नगरपालिका–५ निवासी रामरिझन यादव छन् । उनीहरुविरुद्ध कर्तव्य ज्यान तथा सार्वजनिक ठाउँमा वम विस्फोटन गराउने मुद्दा चलाइने प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए । रासस