नेपाली कांग्रेसका सभापति देउवा भन्छन्– बिम्स्टेक सफल

चितवन, भदौ १८ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।

 

नेपाल प्रेस युनियन चितवन शाखाले सोमबार यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले भर्खरै नेपालमा सम्पन्न उक्त सम्मेलनलाई सफलरूपमा लिनुपर्ने र यसले एक आपसमा सद्भाव बढाउनेमा जोड दिए ।

 

बिम्स्टेकका कारण सार्कको महत्व नघटेको चर्चागर्दै उनले सार्कको पनि आफ्नै महत्व रहेको बताए । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले संयुक्त सैन्य अभ्यास सहमति बमोजिम गरिनुपर्ने बताए ।

 

चिकित्सक सङ्घका जायज माग पूरा गर्नुपर्ने बताएका उनले मुलुकी संहितालाई जनचाहनानुसार परिवर्तन गर्न सकिने जानकारी दिए, “संविधान होस् या संहिता जनचाहनानुसार सुधार गर्न सकिन्छ । सबै मिलेर सुधार गर्दै जानुपर्छ,” सभापति देउवाले भने ।

 

प्रेस स्वतन्त्रतामाथि कुनै अङ्कुश लगाउन नहुनेमा जोड दिँदै उहाँले भन्नुभयो, “प्रेस पूर्णरुपमा स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता हो र हुन्छ पनि ।” सरकारलाई जनभावना बुझेर काम गर्न सुझाव दिएका सभापति देउवाले मुलुकभर महिला हिंसाका घटना बढ्नु, दोषीलाई कारवाही गर्न नसक्नु र कञ्चनपुरमा बालिकामाथि बलात्कारपछिको हत्या घटनाका दोषी पत्ता लगाउन नसक्नु सरकरको कमजोरी हो भने ।

 

अवैज्ञानिक ढङ्गले बढाइएका करका कारण जनता सताइएकाले त्यस्ता कर घटाउनुपर्नेमा पनि उहाँले जोड दिए । रासस