एसिया कप छनोटः मङ्गलबार नेपाल हङकङसँग भिड्दै

काठमाडौं, भदौ १९ । नेपाल र हङकङ मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार भिड्ने भएका छन् ।

 

चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालीकामा चौथो स्थानमा छ । हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा छ । नेपाल ओमान र संयुक्त अरब इमिरेट्स ९युएइ० सँग पराजित भएको थियो भने आयोजक मलेसिया र सिङ्गापुरलाई हराएको थियो । छनोट खेलको फाइनल पुग्न नेपालले हङकङलाई फराकिलोअन्तरले पराजित गर्नुपर्नेछ भने ओमानले युएईलाईसमेत फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ ।

 

चार खेलमध्ये तीनमा जितका साथ ओमान अङ्क तालीकाको शीर्ष स्थानमा छ । चार खेलमध्ये तीनमा जित तथा एक हारका साथ युएई दोस्रो स्थानमा छ । नेपाललाई जितेर मात्र पुग्दैन ओमान र युएईबीचको नतिजा पनि आफू अनुकूल आउन जरुरी छ । ठीक त्यस्तै हङकङलाई पनि आफ्नो जित मात्र पर्याप्त हुँदैन । ओमानले युएईलाई हराइदिनुपर्छ । हङकङको हकमा ओमानले युएईलाई हराईदिए फाइनलमा स्थान बनाउनका लागि आफ्नो जित काफी हुन्छ । तर, नेपाललाई त्यो सुविधा छैन । नेपाललाई रनरेटले पनि साथ दिनुपर्छ । त्यसैले नेपाल पुनः एक पटक भगवान भरोसाको स्थितिमा छ। मलेसिया र सिङ्गापुर फाइनल पुग्ने होडबाट बाहिरिसकेका छन् ।

 

प्रतियोगितामा हङकङका कप्तान अंशुमन रथ र बाबर हायात लयमा छन् । बाबर हायात प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान हुन् । उनले एक शतक र एक अर्धशतकसहित १ सय ९१ रन बनाएका छन् । एउटा शतक पूरा गरेका अंशुमन धेरै रन बनाउने खेलाडी सूचीको छैटौं स्थानमा छन् ।