विद्यालयमा हरित क्रान्ति अभियान

काठमाडौँ, भदौ १९ । “हरियो वन, नेपालको धन” भनिए पनि संरक्षण र जागरणको अभावमा वातावरण विनासको असर पर्न थालेपछि सरकारले सबै विद्यालयमा अनिवार्यरुपमा रुख रोप्ने अभियान ल्याएको छ ।

 

घरपछिको दोस्रो परिवार मानिने विद्यालयलाई हरियाली वातावरणयुक्त बनाउनुपर्ने ठहरसहित नेपाल सरकारले गठन गरेको ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मूल समारोह समितिले यस्तो अभियान अघि सारेको हो ।

 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको मूल समारोह समितिको आइतबारको बैठकले साताव्यापीरुपमा मनाइने दिवसका अवसरमा अनिवार्यरुपमा विद्यालयमा वृक्षरोपण गराउने निर्णय गरेको हो ।

 

मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालले स्थान अभाव भएका विद्यालयमा गमलामा भएपनि विरुवा रोप्न सम्बद्ध सबैमा पत्राचार र आग्रह गरिएको जानकारी दिनुभयो । विद्यालयमा वगैँचा निर्माण गर्न, सरसफाइ गरी प्रदूषण हटाउन र हरियाली इको क्लव गठन गर्न पनि मन्त्रालयले प्रदेश सरकार, स्थानीय तह र सबै विद्यालयलाई आव्हान गरेको छ ।

 

विद्यालय र वरिपरीकोे वातावरण स्वच्छ र हरियाली बनाउन तथा विद्यार्थीप्रति वातावरणबारे व्यवाहारिक ज्ञान दिलाउन यो अभियान ल्याइएको हो । ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नाराका साथ सरकारले यसवर्ष साताव्यापी रुपमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन सुरु गरेको छ । यही भदौ २३ गते दिवस मनाइन्छ । गत जुन ५ मा मनाइएको विश्व वातावरण दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा रुख रोप्ने अभियानको थालनी गर्नुभएको थियो ।

 

शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले यो आव्हानले विद्यालयमा हरित क्रान्ति हुने र मुलुक नै वातावरणमय हुने अपेक्षा व्यक्त गर्नुभयो । पूर्व विज्ञान तथा वातावरणमन्त्री गणेश साहले शिक्षा मन्त्रालयको अभियान सकारात्मक भएको भन्दै यसका लागि विद्यालयको व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीलाई प्रकृतिप्रतिको माया, ममता र महत्व बुझाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा रुख रोप्ने तर हेरविचार नगर्ने संस्कार छ, त्यसैले रोपेको रुखको नियमित संरक्षण गर्नुपर्छ । रुख रोप्दा माटो र मौसमअनुसार सही विरुवा पनि छनोट गर्नुपर्छ ।

 

जापान र कोरियाका विद्यार्थीले माटोसँगै रमाएर सिक्ने गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले माटोसँग काम गर्ने संस्कृति हराउँदै गएको स्थितिमा शिक्षक, विद्यार्थीलाई परिचालन गर्नुपर्ने बताउनुभयो ।

 

नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्र पौडेलले तराई मधेस र पहाडी जिल्लामा बाहेक अधिकांश विद्यालयमा रुख, विरुवा रोप्ने स्थान भएकाले सरकारले गरेको उक्त आव्हान सकारात्मक भएकाले शिक्षक समुदायले साथ दिने बताउनुभयो ।

 

हाल विद्यालय जाने उमेरका २ दशमलव ८ प्रतिशत अर्थात् तीन लाख १२ हजार बालबालिका अझै शिक्षाको अवसरबाट वञ्चित छ ।रासस