प्रकाण्डलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ, भदौ १८ । सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

 

न्यायाधीशद्वय सपना मल्ल प्रधान र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले आज विश्वकर्मालाई नुवाकोट जिल्ला अदालतको रोहोवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘अदालतको आदेशको सम्मान र कार्यान्वयन गर्नुपर्ने कानूनी दायित्व भएको निकायबाट बारम्बार आदेशलाई असम्मान गरेकामा अदालतको गम्भीर सरोकार रहेको छ, निज विश्वकर्मालाई नुवाकोट जिल्ला न्यायाधीशको रोहवरमा छाड्नू ।

 

आदेशमा मुद्दाको अनुसन्धान गरी पर्याप्त कारण, आधार तथा प्रमाण भए कानूनले रोक लगाएको नदेखिएको तर गैरकानूनी रुपमा राखेको भनी दुईपटक आदेश जारी गर्दा पनि आदेशको उल्लङ्घन गर्नुलाई अदालतले गम्भीरतापूर्वक लिएको छ ।

 

सर्वोच्च अदाललते विश्वकर्मालाई थुनामुक्त गर्न दिएको यो तेस्रो आदेश हो । यसअघि भदौ ७ गते प्रकाण्डलाई न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सर्वोच्च अदालतको रजिस्ट्रारको रोहवरमा छाड्न आदेश दिएको थियो ।

 

त्यसैगरी विश्वकर्मालाई यही भदौ १ गते न्यायाधीश चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको थियो । प्रकाण्डलाई व्यापारीसँग रु सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो । रासस