करिब १६ अंक बढ्यो नेप्से

काठमाडाै १९। साताको दोस्रो दिन नेप्से परिसूचक १५ दशमलव ९८ अंक बढेर बन्द भएको छ । सुस्त गतिमा रहेको नेप्से गत साताको अन्तिम कारोबार दिनदेखि उकालो लाग्न थालेको थियो । पुँजीगत लाभकर अन्योलता अन्त्य गर्न गत बुधबार लगानीकर्ताहरूले अर्थमन्त्रीलाई अनुरोध गरेका थिए । केही दिनमा नै पुँजीगत लाभकरको विवादलाई अन्त्य गर्ने अर्थमन्त्रीले आश्वासन दिएपछि लगानीकर्ताको मनोबल बढेको छ । यसले बजार बढ्न टेवा पुगेको एक लगानीकर्ताले बताए ।

 

बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर घटाएका छन् । निक्षेपसँगै कर्जाको पनि ब्याजदर घट्न लगानीकर्ताहरूको अपेक्षा रहेको छ । ब्याजदर घटेपछि बजार बढ्नु स्वाभाविक हो । यसका साथै सूचीकृत कम्पनीहरूले गत आवको लाभांश वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ता त्यसतर्फ आकर्षित भएका छन् । निरन्तर बजार घटेपछि कम्पनीहरूको सेयरमूल्य सस्तिएको छ । लाभांश घोषणा गरेसँगै सस्तो मूल्यमा सेयर खरिद गर्न लगानीकर्ताहरू बजार प्रवेश गरेको एक ब्रोकरले बताए । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । यसले लगानीकर्ताहरू उत्साहित भएका छन् ।

 

नेप्से परिसूचक यस दिन १ दशमलव ३४ प्रतिशत बढेर १ हजार २ सय ६ दशमलव २६ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव २२ प्रतिशत बढेर २ सय ५४ दशमलव ८७ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६९ कम्पनीको ५ हजार ९ सय ७१ पटकको कारोबारमा ५४ करोड ६० लाख २१ हजार ७ सय १९ बराबरको १८ लाख ९८ हजार ३ सय ५ कित्ता सेयर किनबेच भएको छ । यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा ८० प्रतिशत बढी हो । नेप्सेको १४ दिने आरएसआई यस दिन ५८ दशमलव ६६ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ ।

 

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अगाडि रहेको छ । यस दिन सो बिमा कम्पनीको ११ करोड २८ लाख ११ हजार ८ सय ७६ रुपैयाँबराबरको १ लाख २७ हजार १ सय ८३ कित्ता सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा यस दिन एनएमबि बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन २ सय ४३ पटक सेयर खरिदबिक्री भएको छ । लक्ष्मी बैंक र काबेली विकास बैंकको सेयरमूल्य यस दिन करिब १० प्रतिशत बढेको छ । ङादी ग्रुप पावर लिमिटेडको सेयरमूल्य यस दिन ८ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ६९ कम्पनीमध्ये यस दिन १ सय ३९ कम्पनीको सेयरमूल्य बढेको छ । १८ कम्पनीको मात्र यस दिन सेयरमूल्य घटेको छ भने बाँकी १२ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

 

सोमबार होटेल र अन्य समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । यस दिन उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक ४ दशमलव ३२ प्रतिशत बढेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक १ दशमलव ६७ प्रतिशत, वाणिज्य बैंक समूहको १ दशमलव ५२ प्रतिशत, जलविद्युत् समूहको १ दशमलव ४६ प्रतिशत, जीवन बिमा समूहको १ दशमलव ३१ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ८८ प्रतिशत, वित्त समूहको शून्य दशमलव ७४ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव २२ प्रतिशत बढेको छ । होटेल समूहको परिसूचक यस दिन शून्य दशमलव १२ प्रतिशत घटेको छ भने अन्य समूहको शून्य दशमलव शून्य ४ प्रतिशत घटेको छ ।

 काबेलीको बोनस सेयर

काबेली विकास बैंक लिमिटेडले ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । भदौ १७ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सो बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । बैंकको चुक्ता पुँजी २१ करोड ५ लाख ९० हजार ४ सय रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत गरी सो बोनस सेयर वितरण गरिनेछ ।

 मिर्मिरेको लाभांश

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ १७ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले २४ प्रतिशत बोनस सेयर र सोमा लाग्ने करबापत १ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले आव ०७४÷७५ को मुनाफबाट हाल जारी हकप्रद सेयर बाँडफाँटपश्चात् कायम हुने चुक्ता पुँजी १० करोड ३८ लाख ६० हजार रुपैयाँबाट सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्तगरेपश्चात् सो लाभांश वितरण गरिनेछ ।

युनाइटेडको बोनस सेयर

युनाइटेड फाइनान्स लिमिटेडले १९ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । ०७४ पुस २९ गते सम्पन्न कम्पनीको तेइसौँ वार्षिक साधारणसभाले सो बोनस सेयरको प्रस्ताव पारित गरेको हो । सेयरधनीहरूले सो बोनस सेयरबापतको कर रकम जम्मा गर्नुपर्नेछ । कर रकम जम्मा भएपश्चात् मात्र सो सेयर जम्मा गरिनेछ । हालसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरूको बोनस सेयर हितग्राही खातामा जम्मा गरिने व्यवस्था गरिएको छ । हालसम्म भौतिक सेयर धारण गरेका सेयरधनीहरूलाई कम्पनीले शीघ्र सेयर अभौतिकीकरण गराउने अनुरोध गरेको छ ।

 सिद्धार्थको हकप्रद हितग्राही खातामा

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले भदौ १७ गते हकप्रद सेयर हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले असार १७ गतेदेखि साउन २० गतेसम्ममा १० बराबर ३ दशमलव ५ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयर बाँडफाँट गरेको हो । कम्पनीले निष्कासन गरेको कुल २२ लाख ४४ हजार ९ सय ७३ दशमलव ५० कित्तामध्ये २२ लाख ७ हजार ७ सय ५७ कित्ता सेयर बाँडफाँट गरेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

 नाडेपको सिइओको राजीनामा

नाडेपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शारदाप्रसाद कट्टेलले राजीनामा दिएका छन् । कट्टेलले पारिवारिक कारण देखाई दिएको राजीनामालाई भदौ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । साथै, रिक्त रहेको पदमा कम्पनीका नायब सिइओ अमृतप्रसाद रुपाखेतीलाई कायममुकायम सिइओ नियुक्त गरेको छ ।

 साल्ट ट्रेडिङको सञ्चालक समिति परिवर्तन

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालक समितिमा नवराज ढकाललाई नियुक्त गरेको छ । ढकाल नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि हुन् । यसअघि मन्त्रालयको प्रतिनिधित्व मुकुन्दप्रसाद पौडेलले गर्दै आएका थिए ।n,p