हेपाटाईटिस बि फैलिएको आशंकामा सामाजिक विकास मन्त्रालयको टोली डोटीको छतिवनमा

भाद्र १९,डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं २ छतिवनमा हेपाटाईटिस बि फैलिएको आशंकामा प्रदेश नं‌. ७ को सामाजिक विकास मन्त्रालयको टोली मंगलबार छतिवन पुगेको छ । छतिवनको रुपसकाँडा गाउँमा केही दिन यता हेपाटाईटिस बि को सन्त्रास फेलिएपछि स्थानीयको बिशेष आग्रहमा डा. विकास दुवाडी लगाएत ५ जनाको टोली छतिवन पुगेको स्थानीय युवा भरत कुँरले जानकारी दिए ।

 

हेपाटाईटिस बि हो वा होइन पत्ता लगाउन स्वास्थ्य परीक्षण गर्ने गरी प्राविधिक उपकरणसहित टोली छतिवन पुगेको डा. दुवाडीले बताए । जोरायल गाउँपालिका वडा न‌‌ं२ का अध्यक्ष मानबहादुर मल्लका अनुसार सो गाउँका ७/८ जनामा हेपाटाईटिस बि प्रमाणित भईसकेको छ ।

 

हेपाटाईटिस बि को आशंकामा सो गाउँका केही व्याक्तिले बाँकेको कोहलपुरमा र केहीले कैलालीको अत्तरीयामा रगत जाँच गराएको बुझिएको छ । रुपसकाँडा ३ जना ब्यक्तीमा वि.सं. २०७३ सालदेखी नै हेपाटाईटिस बि रोग रहेको र उनिहरुले हाल औषधी सेवन गरिरहेको वडा अध्यक्ष मल्लले बताए ।

 

झण्डै एकसातादेखी फेरी गाउँमा हेपाटाईटिस बि फैलिएको आशंकामा १ सय ५१ जनाले रगत परीक्षण गराएको जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताईन् ।