पाकिस्तानमा राष्ट्रपतिका लागि मतदान जारी

इस्लामाबाद ।पाकिस्तानको नयाँ राष्ट्रपतिका लागि मङ्गलबार मतदान जारी रहेको छ । निर्वाचन अधिकारीहरुका अनुसार संसदले वर्तमान राष्ट्रपति मामून हुस्सैनको स्थानमा नयाँ राष्ट्रपति छान्नेछ ।

 

संसदका दुबै सदन र चारवटा प्रान्तीय सभाका एक हजारभन्दा बढी सांसदहरुले मतदानमा भाग लिइरहेका छन् । मतगणनाको नतिजा आजै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

 

प्रधानमन्त्री इमरान खानका निकटस्थ पूर्व चिकित्सक आरिफ अल्भी चुनावी मैदानमा छन् । खान नेतृत्वको तेहरिक–ए–इस्लाम पार्टीको समर्थनमा उठेका अल्भी नै पाकिस्तानको नयाँ राष्ट्रपति हुने अडकल गरिएको छ किनभने चुनावमा विपक्षी दलहरुले संयुक्त उम्मेदवार उठाउन सकेका छैनन् ।

 

अल्भीसँगै चुनावमा नवाज शरिफको पाकिस्तान मुस्लिम लीग–नवाजको समर्थनमा जामियत उलेमा–इ–इस्लाम पार्टीका मौलाना फजलूर रहमान उम्मेदवार बनेका छन् । संसदमा तेस्रो ठूलो दल पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट एजाज अहसनको उम्मेदवारी परेको छ ।

 

अल्भीको विजयले प्रधानमन्त्री इमरान खानलाई सत्ता सञ्चालनमा धेरै ठूलो सहयोग पुग्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।एएफपी