बलात्कारी जोगाउने एसपीलाई जनसेवाश्री

              एसपी विद्यानन्द माझी

काठमाडाै भदाै २०।  बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । उनले प्रबल जनसेवाश्री विभूषण पाएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए । गृह मन्त्रालयले निलम्बन गरी उनलाई विभागीय कारबाही गरेको थियो । उनै माझीले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको भन्दै राष्ट्रपतिको हातबाट विभूषण ग्रहण गरेका छन् ।

 

अघिल्लो वर्ष नै उनलाई विभूषण दिने निर्णय भएकाले आफूहरूले हटाउन नसकेको गृहका एक अधिकारी बताउँछन् । तर, आइतबारको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव सोमलाल सुवेदी र गोपीकृष्ण शर्माको नाम हटाउँदा उनको नाम भने हटेन । निलम्बन फुकुवा भएपछि एसपी माझीलाई गृह मन्त्रालयले डोटी जिल्लाको प्रहरी प्रमुखका रूपमा खटाएको छ ।

३४३ मध्ये १६६ विभूषण सुरक्षाकर्मीलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विभूषण प्रदान गर्दा शीतलनिवासमा सुरक्षा अधिकारीहरूको ठूलो भिड थियो । सुरक्षाका लागि उनीहरू त्यहाँ पुगेका थिएनन्, विभूषण ग्रहण गर्न गएका थिए । देशलाई योगदान दिएबापत राज्यले दिएको सम्मान अर्थात् विभूषणमध्ये आधाजसो सुरक्षा अधिकारीले हात पारेका छन् ।

 

सरकारले गत वर्ष ३ सय ४५ जनालाई विभूषण दिने निर्णय गरेको थियो । त्यसमा २ जनाको नाम हटाएर सरकारले ३ सय ४३ लाई विभूषण दिएको छ । जसमध्ये १ सय ६६ जना सुरक्षा अधिकारी छन् । यो वर्ष मात्र होइन, हरेक वर्षजसो सरकारले प्रदान गर्ने विभूषणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूको भागमा आधाजसो सम्मान मिल्ने गरेको छ ।

सुरक्षा अधिकारीमा किन हुन्छ विभूषणको मोह

सुरक्षा अधिकारीहरूमा विभूषणको मोह धेरै हुनुमा मुख्य दुई कारण छन् । पहिलो– विभूषणले उनीहरूको बढुवामा अर्थ राख्छ । नेपाल प्रहरीको बढुवामा सरकारले दिने विभूषणबापत २ नम्बर राखिएको छ । अन्य सुरक्षा निकायमा विभूषणलाई नम्बरको आधार बनाइने भएकाले उनीहरूले बढी नै लबिङ गर्छन् ।

 

दोस्रो– राज्यको उच्च तहमा अरूको भन्दा धेरै पहुँच हुने भएकाले उनीहरूले धेरै पाउने गरेका हुन् ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी देशमा धेरै दुःख गर्नेहरू सुरक्षाकर्मी नै भएकाले उनीहरूले धेरै विभूषण पाएको बताउँछन् । सुवेदी भन्छन्, ‘बाढी पहिरो आउँदा, जनतालाई दुःख पर्दा सबैभन्दा पहिला सहयोग गर्न पुग्ने भनेका सेना प्रहरी नै हुन्, उनले नपाएर कसले पाउँछन् ?

 

नेपाल प्रहरीमा त विभूषण विकृति नै बनिसकेको छ । कामको आधारमा भन्दा चिनजानको आधारमा विभूषण दिने प्रवृत्ति बढेकाले प्रहरीमा पहुँच नभएकाहरू यही कारण करिअरमै पछि पर्ने अवस्था छ । बढुवामा १० नम्बरमध्ये २ नम्बर विभूषणबापत राखिएको छ । बढुवाकै लागि विभूषणका लागि हरेक वर्ष प्रहरीमा ठूलो लबिङ हुने गरेको छ । गृहका एक अधिकारी भन्छन्, ‘प्रहरीको बढुवामा विभूषणको नम्बर नराख्ने हो भने विभूषण पाउने सूचीमा प्रहरीको संख्या ह्वात्तै घट्छ ।

१५ सयले दिए निवेदन

आगामी असोज ३ गते संविधान दिवसको दिन सरकारले विभूषण पाउनेहरूको नामावली सार्वजनिक गर्दै छ । जसका लागि गृह मन्त्रालयले गत महिना नै आवेदन मागिसकेको छ । करिब एक हजार ५ सयजनाले आवेदन दिएका छन् । त्यसमा धेरैजसो सुरक्षाकर्मी तथा सरकारी कर्मचारीहरू नै छन् ।

 

उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको विभूषण छनोट समितिको पहिलो बैठक बसिसकेको छ । यसपटक नयाँ कार्यविधि बनाएर विभूषण छनोटलाई वस्तुनिष्ठ बनाउने प्रयास गरिएको गृह मन्त्रालयका प्रवक्ता सुवेदी बताउँछन् । एकपटक लिएको ३ वर्षसम्म लिन नपाउने, राज्यलाई महत्वपूर्ण योगदान दिएको खुलाउनुपर्ने प्रावधानहरू थपिएका छन् ।नयाँ पत्रिकाबाट।