साफ च्याम्पियनसिप : नेपालले भोली भुटानसँग खेल्दै नेपाललाइ जित्नै पर्ने दवावमा

बंगलादेश (ढाका) — पहिलो खेल गुमाएर दबाबमा परेको नेपालले साफ च्याम्पियनसिप २०१८ को समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा बिहीबार भुटानको सामना गर्दै छ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २-१ को हार व्यहोरेको थियो । यही हारले नेपाल दबाबमा छ । भुटानले पनि आफ्नो पहिलो खेल आयोजक राष्ट्र बंगलादेशसँग २-० ले गुमाएको थियो । यस्तोमा दुवैका लागि भोलिको खेल महत्वपूर्ण रहने छ, यस खेलमा नेपालले आफू अनुकुल नतिजा निकाल्न सकेन भने लिग चरणबाटै बाहिरने सम्भावना रहन्छ। त्यसैले यो खेल नेपालको लागि गर या मरको स्थिति हो। भुटानको सामना गर्नुअघि कान्तिपुरसँग कुराकानी गर्दै मुख्य प्रशिक्षक बालगोपाल महर्जनले यो खेललाई लिएर आफू सकारात्मक रहेको बताएका छन्। उनले भनेका छन्, ‘फुटबलमा सबै प्रकारका सम्भावना रहन्छन्। हामी यो खेल जितेर दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाउन चाहन्छौं।’

 

यस्तै भुटानी प्रशिक्षक ट्रेभर मोर्गनले नेपाल विरुद्धको खेल सबै प्रकारले खुल्ला रहने बताएका छन्। उनका अनुसार दुवै टिमलाई जित आवश्यक रहेकोले यो खेलमा तीब्र प्रतिस्पर्धा हुने निश्चित छ। नेपाली फुटबल इतिहासमा भुटान नै एक मात्र यस्तो प्रतिद्वन्द्वी हो जसका विरुद्ध अहिलेसम्म हार व्यहोर्न परेको छैन। यस्तोमा नेपालले यही टिमको समना गर्दा निक्कै सझबुझ पूर्ण रुपमा प्रस्तुत हुनुपर्ने छ। पछिल्लो समय भुटानी फुटबलले निकै प्रगति गरेको छ। र, केही आश्चर्यजनक नतिजा निकालेको पनि छ। त्यसैले यसपल्ट नेपालले भुटानलाई कम आँक्न मिल्दैन। भुटानले पछिल्लो विश्वकप छनौटमा श्रीलंकालाई दुई लेगमा हराएको थियो।

 

अहिलेसम्म साफ च्याम्पियनसिपमा नेापल र भुटानबीच २ खेल मात्रै भएका छन्। जसमा दुवै खेलमा नेपाल विजयी भएको छ। नेपालले सन् २००३ को साफ च्याम्पियनसिपमा भुटानलाई बंगबन्धु रंगशालमा नै भएको खेलमा २-0 ले हराएको थियो भने सन् २००५ मा कराँचीमा भएको खेलमा नेपालले भुटानलाई ३-१ ले हराएको थियो।