६० करोडको कम्पनी नै कर्मचारीको नाममा,कम्पनी रजिस्ट्रार कार्यालयका चार कर्मचारीसहित १२ पक्राउ

 काठमाडाै भदाै २१।  कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँबराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ । नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर इलेक्ट्रोनिक्स नामक कम्पनी उनकै पूर्वकर्मचारी जितबहादुर मगरको नाममा नामसारी गरिदिएका हुन् । जटियाको कम्पनीको नाममा नेपालमा घरजग्गासमेत गरेर करिब ६० करोडको सम्पत्ति थियो ।

 

प्रहरीले चार सरकारी कर्मचारीसहित १२ जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार भारतीय व्यापारी जटिया विदेशमा रहेका वेला नक्कली कागजपत्र र हस्ताक्षरका आधारमा कम्पनी नामसारी गरिएका हुन् । उनको कम्पनीको लगानी २५ लाख रुपैयाँ मात्र देखाइएको छ । तर, कम्पनीको नाममा सम्पत्ति भने ६० करोडभन्दा धेरै थियो । उनले करिब २५ वर्षदेखि नेपालमा व्यवसाय गर्दै आएका छन् । कम्पनीको सबै कारोबारको जिम्मा उनले आफ्ना कर्मचारी मगरलाई सुम्पिएका थिए । जटियाको सबै कारोबार तथा सम्पत्तिबारे उनलाई थाहा थियो ।

 

विदेशबाट फर्कंदा सम्पत्ति गायब

 

जटियाको कम्पनीमा १६ वर्ष काम गरेर मगरले विवादका कारण केही महिनाअघि जागिर छाडे । त्यसपछिका केही हप्ता जटिया सिंगापुर बसे । नेपाल फर्किएको केही दिनमै उनलाई फोन आयो– तपाईंले आफ्नो जग्गा बेच्न लाग्नुभएको हो ? मालपोत कार्यालयका कर्मचारीले फोन गरेर उनलाई यो प्रश्न सोधेका थिए । मालपोतका कर्मचारीको प्रश्नले उनी झस्किए । जग्गा बेच्नेबारे कोहीसँग उनको कुरै भएको थिएन । तर, जग्गा नामसारीको कागजपत्र मालपोत कार्यालयमा तयार भइसकेको थियो । चिरीबाबु महर्जन नामक एक बिचौलियाले जग्गा नामसारीको प्रक्रिया अघि बढाएका थिए ।

 

 

मालपोतका कर्मचारीबाट सूचना पाएपछि उनी हतारहतार मालपोत कार्यालय गएर बुझे । जग्गा कम्पनीको नाममा थियो । विदेशीले कम्पनीको नाममा सम्पत्ति जोड्न पाउने, तर व्यक्तिको नाममा नपाउने भएकाले उनको सबै सम्पत्ति कम्पनीको नाममा थियो । सबै सम्पत्ति रहेको उनको कम्पनी आफ्ना पूर्वकामदार मगरको नाममा नामसारी भइसकेको कागजपत्र मालपोतमा पेस गरिएको थियो । उनी थप तनावमा परे । कम्पनी रजिस्ट्रारको कार्यालयमा गएर बुझ्दा कम्पनी उनको नाममा थिएन । करिब ६० करोड रुपैयाँबराबरको घरजग्गालगायत सम्पत्ति पनि बिक्री हुने क्रममा रहेको थाहा पाए । जग्गा बिक्रीका लागि मगरले बैना रकमसमेत लिइसकेका थिए । बालुवाटारमा रहेको करिब दुई रोपनी जग्गा र घर, सतुंगलको जग्गा, त्यस्तै नुवाकोट र म्याग्दीमा रहेको जग्गासमेत उनले बिक्रीको प्रक्रियामा लगिसकेको पत्ता लाग्यो । त्यसपछि जटिया प्रहरीमा पुगे । सिआइबीले तत्कालै जितबहादुरलाई पक्राउ गरेर अनुसन्धान थाल्यो ।

 

 

प्रहरीले जटियाको घरजग्गा बिक्रीका लागि लिएको ५० लाख बैना रकम पनि बरामद गरेको छ । ‘अनुसन्धानका क्रममा एक व्यक्तिले जितबहादुरलाई प्रयोग गरेर जटियाको सम्पत्ति हात पार्न खोजेको देखिन्छ,’ अनुसन्धानमा आबद्ध सिआइबीका अधिकारीले भने । कर्मचारीकै मिलेमतोमा त्यसरी नक्कली कागजपत्रका आधारमा नामसारी भएको थियो । अनुसन्धानका क्रममा कर्मचारीले मोटो रकम लिएको खुलेको छ ।

 

यसरी भयो ठगी

व्यवसायी जटियाका पूर्वकर्मचारी जितबहादुर मगरले मालिकको सम्पत्तिबारे आफन्त तथा साथीहरूलाई बताएका थिए । साथीकै योजनामा उनले कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारी कम्पनीको अध्यक्षबाट जटियालाई हटाएर आफू नियुक्त भएको कागजपत्र तयार पारे ।

 

त्यही आधारमा कम्पनी आफ्नो नाममा लिए । कम्पनी आफ्नो नाममा लिएपछि सबै घरजग्गा बिक्री गरेर भाग्ने तयारी गर्ने क्रममा योजनाकारसहितका व्यक्तिहरू पक्राउ परेका हुन् । सिआइबीले कम्पनी रजिस्ट्रार कार्यालयका चार कर्मचारीलाई पक्राउ गरिसकेको छ । अधिकृतद्वय नारायण पोखरेल र उमेश जोशीसहितका कर्मचारी पक्राउ परेका छन् ।नयाँ पत्रिकाबाट।