मलेसियामा कामदारको पारिश्रमिक वृद्धि

काठमाडौं, भदौ २२ । मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

 

यो निर्णय पूर्ण रुपमा लागू भएमा आगामी वर्षदेखि यहाँ कार्यरत नेपाली कामदारले न्यूनतम मासिक पारिश्रमिक १०५० रिंगिट पाउनेछन् ।

यहाँका सेवा, निर्माण, उत्पादन, कृषि, सुरक्षा लगायत विभिन्न रोजगारी क्षेत्रमा गरी करिब ५ लाख नेपाली कार्यरत छन् ।
हाल मलेसिया प्रायद्वीपमा न्यूनतम पारिश्रमिक मासिक १ हजार रिंगिट छ भने सावाह र सारावक क्षेत्रमा काम गर्नेहरुका लागि ९२० रिंगिट कायम छ ।

 

वर्तमान सरकारको गठबन्धन पाकातन हरापनले गत मे ९ को १४ औं आमनिर्वाचनको आफ्नो चुनावी प्रतिवद्धतापत्रमै निजी क्षेत्रमा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरी १५ सय रिंगिट पुर्‍याइने उल्लेख गरिएको थियो । तर उक्त प्रतिवद्धतापत्रमा उल्लेख गरिएभन्दा निकै कम रकममात्र वृद्धि गरिएको हो ।

 

विदेशी कामदारहरुको व्यवस्थापन गर्न कतिपय श्रमसम्बन्धी नीतिहरु परिवर्तन गर्ने बताउँदै आएको मलेसियामा विदेशी कामदारको लेभी रकम उनीहरु कार्यरत रोजगारदाताले नै तिर्नुपर्ने नीतिगत प्रावधान छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।