विषाक्त पुतलीको बिगबिगी
काठमाडौं, भदौ २२ । रङ्गी चङ्गी पुतली हेर्दा जति आर्कषक हुन्छ, बुझ्दै जाँदा उत्तिकै विषालु भएको पनि पाइन्छ । ‘पुतली छुनुहुन्न, आँखामा झुस प¥यो भने आँखै बिग्रिन्छ’ भन्ने जनश्रुति सायद यसकै लागि बनेको होला ।
पुतलीका धेरै प्रजातिमध्ये ‘ग्याजालिना मोथ’ ले आँखा संक्रमण गराउने संभावना उच्च रहन्छ । यही पुतलीका कारण नेपालमा आँखा संक्रमितको संख्या हरेक वर्ष थपिदै गएको छ ।
ग्याजालिनाको रौं आँखाका लागि जटिल समस्या बनेको र सो प्रजाती नेपालका लागि ठूलै चुनौती बन्न थालेको विज्ञहरु बताउँछन् । ग्याजालिनाको पुच्छरको टुप्पोमा रहने पहेँलो रङ मिश्रित रौं नै आँखाका लागि विषाक्त भएको पुतलीविज्ञ डा।भैया खनाल बताउनुहुन्छ । आँखा संक्रमण गराउने ग्याजलिना मोथ नै भएको पुष्टी उहाँले ८ वर्षअघि नैं गर्नुभएको थियो ।
‘पोथी पुतलीले मात्रै फूल पार्ने र उक्त फूल रौमैं अड्किने बताउँदै उहाँ नेपाल समाचारपत्रसँग भन्नुहुन्छ–‘त्यस्तो रौं आँखामा परेमा जटिल संक्रमण गराउँछ, शरिरका अन्य भागमा समेत संक्रमण हुनसक्छ ।
डा।खनालका अनुसार फूललाई शत्रुबाट बचाउन सो पुतलीले शरिरबाट केमिकल समेत फाल्छ । उक्त केमिकलले गर्दा शत्रुले फूललाई हमला गर्न सक्दैन ।
वर्षाद्मा यस्तो विषालु पुतलीका कारण आँखा संक्रमितको संख्या बढ्दो क्रममा रहेको बताइएको छ । काठमाडौंका टिचिङ अस्पताल, आँखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आँखा प्रतिष्ठान गौशालामा यस्ता विरामीको संख्या वर्षेनी बढ्ने तिलगंगा आँखा अस्पतालकी सह–प्राध्यापक डा।अनु मानन्धर बताउनुहुन्छ ।
पुतली संक्रमित विरामीको संख्या बढ्न थालेपछि ग्याजलिनाका रौंमा रहेका हानिकारक रसायनका विस्तृत पक्ष केलाउने प्रयास भइरहेको उहाँको भनाइ छ । ‘रौंको विषात्त पक्ष के हो भन्ने कुरा पत्ता लगाउने अध्ययन गर्ने तयारी भइरहेको छ’–मानन्धर भन्नुहुन्छ ।
उहाँका अनुसार गत वर्ष ग्याजलिना संक्रमित ४० भन्दा बढी विरामी तिलगंगा पुगेका थिए । सेवाग्राहीले विस्तृत समस्या बताएपछि उपचारका क्रममा आँखामा व्याक्टेरिया देखिएको र त्यसको मुख्य कारक ग्याजलिना भएको पुष्टी भएको थियो । संक्रमणबारे प्रष्टाउँदै उहाँ थप्नुहुन्छ–‘त्यसको रौं परेको ४८ घन्टाभित्रै उपचार भएमा राम्रो हुन्छ, उपचार ढिला भएमा दृष्टि गुम्न सक्छ ।’ नेपाल समाचारपत्रबाट