बाँस्तोला र घिमिरेलाई बिपी सम्मान

काठमाडौँ  भदौ २३ । जननायक बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बिपी सेनानी सम्मान काङ्ग्रेस नेता चक्रप्रसाद बाँस्तोला र बिपी साहित्य सम्मान वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरेको छ ।

जननायक विश्वेश्वरप्रसाद कोइरालाको १०५औँ जन्मजयन्तीमा आज एक कार्यक्रमको आयोजना गरी बिपी सेनानी सम्मान तथा साहित्यकार सम्मान प्रदान गरेको हो ।

बिपी सेनानी सम्मानको राशि रु ५१ हजार नगदसहित ताम्रपत्र र बिपी साहित्य सम्मान रु एक लाख नगदसहित ताम्रपत्र रहेको छ । बिपी सेनानी सम्मान अचेत अवस्थामा रहनुभएका बाँस्तोलाकी धर्मपत्नी कुसुम बाँस्तोलाले लिनुभएको थियो ।

कार्यक्रममा पूर्वराष्ट्रपति डा रामवरण यादवले बिपी कोइरालाले देखेको सपना संविधान निर्माण भएर पूरा हुँदै गएको बताउनुभयो । उहाँले प्रजातन्त्रको रक्षाका लागि हिमाल, पहाड र तराईलाई जोडेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाली काङ्ग्रेसको तर्फबाट गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्नुभएका यादवले काङ्ग्रेसले कल्पना गरेको प्रजातान्त्रिक बाटोमा मुलुक अगाडि बढेको बताउनुभयो । “सक्षम प्रतिपक्ष नभई लोकतन्त्र चल्न सक्दैन”, उहाँले भन्नुभयो ।

बाँस्तोलाले प्रजातन्त्र स्थापनाको सङ्घर्षबारे बोल्नुहुँदै वरिष्ठ पत्रकार हरिहर वीरहीले बाँस्तोला पार्टीभित्र देखिएको गुठउपगुठलाई मिलाएर लैजाने क्षमता भएको राजनीतिज्ञ भएको बताउनुभयो । “बिपी कोइरालालाई राजनीतिमा सफल बनाउन बाँस्तोलाको पनि महत्वपूर्ण भूमिका रहेको छ”, उहाँले भन्नुभयो ।

सम्मानित साहित्यकार घिमिरेको बारेमा बोल्नुहुँदै प्रा डा अभि सुवेदीले नेपालको साहित्यिक पत्रकारिताको विकास र विस्तारमा घिमिरेको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “बिपी कोइरालाको साहित्यलाई पत्रकारिताको माध्यमबाट आम नागरिकमाझ लैजान घिमिरेको योगदान महत्वपूर्ण छ”,उहाँले भन्नुभयो ।

सम्मानित व्यक्तिद्वय बाँस्तोला र घिमिरेले आफूहरुले नेपाली साहित्य र राजनीतिक क्षेत्रमा गरेको योगदानबापत् बिपी कोइरालाको नाममा स्थापना भएको संस्थाले सम्झेर सम्मान गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

ट्रष्टका अध्यक्ष श्रीहर्ष कोइराला, महासचिव रामचन्द्र पोखरेलले कोइरालाले नेपाली राजनीतिक र साहित्य क्षेत्रमा गरेको योगदानलाई आम जनतामाझ चिनाउन ट्रष्टले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँहरुले विगत वर्षदेखि नै सेनानी सम्मान र साहित्य सम्मानबाट विभिन्न व्यक्तिलाई सम्मान गर्दे आइरहेको उल्लेख गर्नुभयो । रासस