प्रहरी चौकीमा आक्रमण, तेह्र प्रहरी र दश तालिबानको मृत्यु

अफगानिस्तान । अफगानितास्तानको उत्तरी कुन्दुज प्रान्तमा सोमबार बिहान एक प्रहरी चौकीमा यहाँका सशस्त्र तालिबानहरुले आक्रमण गरेका छन् ।

यस आक्रमणमा परी कम्तीमा पनि १३ जना प्रहरीको ज्यान गएको छ । अधिकारीहरुले उक्त चौकीमा रहेका प्रहरीहरुमध्ये १३ जनाको ज्यान गएको पुष्टि गरेका छन् । त्यसैगरी सो आक्रमणमा परी आक्रमणकारी तालिबानका १० जना लडाकू पनि मारिएका छन् । कुन्दुजका प्रहरी प्रमुखले सो जानकारी दिएका छन् ।

 

कुन्दुजको दासित इ आर्ची जिल्लामा रहेका सरकारी कार्यालयहरुनजिकै रहेको सो प्रहरी चौकीमा सोमबार बिहानी पख तालिबानहरुले शक्तिशाली बन्दुक र रकेट लञ्चरजस्ता अत्याधुनिक हतियारहरुले आक्रमण गरेका प्रहरीले जनाएका छन् । सो जिल्लामा रहेका सरकारी कार्यालयलाई यसअघि पनि तालिबानहरुले लक्षित गर्ने गरेका थिए । गत हप्तामात्र पनि सो जिल्लामा उनीहरुले हमला गरेका थिए ।

 

त्यसैगरी अफगानिस्तानको अर्को प्रान्त बाघलानमा पनि गत शुक्रबार भएको यस्तै हमलामा परी अफगानिस्तानका २० जना सैनिकको ज्यान गएको थियो । कुन्दुज र बाघलान अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्दछन् । सो क्षेत्रमा तालिबानहरुको बढी नै प्रभाव रही आएको बताइएको छ । एएफपी