ठमेलमा भिषण आगलागी , पाँच करोड भन्दा माथिको क्षति

काठमाण्डौ, २६ भदौ । मानिसहरुको बाक्लो चहलपहल हुने शहर ,राजधानीको अति नै ब्यस्त शहरबध्येको एक शहर ठमेलको ज्याठास्थित स्थानीय सुमनमान स्थापितको ६ तले घरमा मंगलबार बिहान पौने ४ बजे ठमेलमा बिहानै भीषण आगलागी भयो। आगलागीबाट पाँच करोडभन्दा माथिको भौतिक क्षति भए पनि भाग्यवश मानवीय क्षति भने हुन नपाएको स्थानीयहरु बताउँछन् ।

प्रहरीका अनुसार ट्रेकिङ व्यवसायी पेम्बा दोर्जेले भाडामा लिएर पहिलो तलामा भण्डारण गरेको अक्सिजन ग्यास सिलिन्डरमा आगो सल्किएको हो। ग्यास सिलिन्डर पड्किएर फैलिएको आगलागीले सय मिटर आसपासका अन्य पाँचरसातवटा घरका झ्यालका सिसा फुट्नुका साथै प्लास्टिकका सामान जलेका छन्। सबै गरेर पाँच करोड रुपैयाँभन्दा माथिको क्षति भएको पछिल्लो जानकारी प्रहरीले दिएको छ। घरका चौथो तलासम्म ट्रेकिङ व्यवसायीका लागि भाडामा दिएर घर मालिक सुमनमान स्थापितको परिवार पाँचौं तलामा बस्ने गरेका थिए।

घरको चौथो तलासम्म आगो पुग्दा नपुग्दै उपत्यकाका विभिन्न स्थानबाट ल्याइएका आधा दर्जन दमकलको सहायतामा नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिएकाले मानवीय क्षति हुन नपाएको हो। आगलागी भएपछि पाँचौं तलामा रहेका स्थापितको परिवारसहित वरपरका घरका गरेर १५र२० जनालाई प्रहरीले उद्धार गरेको दरबारमार्ग प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीका कारण भागदौड गर्दा पाँच जना घाइते भएका छन्। घरमाथिबाट हामफाल्दा रामलाल श्रेष्ठ, अञ्जना श्रेष्ठ, सुवर्ण थापा लगायतको हातखुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।